पर्यटन वर्षले लक्ष्य प्राप्त गर्न सकेन

राजनीतिक द्धन्दका बेला विग्रिएको मुलुकको छवि सुधार्ने र आर्थिक बृद्धि गर्ने उद्देश्य सहित सुरु गरिएको नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय अभियान आशामात्रै जगाएर सकिएको छ । १० लाख पर्यटक भित्र्याउने, पर्यटकको नेपालमा बसाई अवधि र खर्च समेत दोब्बर गराउने महत्वाकांक्षी लक्ष्य राखिएको अभियानले संख्यात्मक लक्ष्य हासिल गर्न सकेन् । १० लाख लक्ष्य मध्ये ७ लाख हवाईमार्गबाट त ३ लाख स्थलमार्गबाट पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । यो लक्ष्य सात लाख ५० हजारको हाराहारीमा नै सिमित हुने देखिएको छ । 

तीन वर्ष अगाडि घोषणा गरिएको अभियान बारे अन्तर्राष्ट्रिय रुपमा व्यापक मात्रामा प्रचार प्रसार गर्न नसक्नु र दुई वटा राष्ट्रिय ध्याजावाहक विमान खरिद प्रकृया बीचमै रोकिनु नै लक्ष्य प्राप्त गर्न नसक्नु प्रमुख कारक बने । दुई वटा विमान थपिएको भए संभवतः अभियानले लक्ष्य प्राप्त गर्न सक्थ्यो । अभियान सुरु भए लगत्तै थालिनुपर्ने प्रचारप्रसारको काम वर्षको अन्तिम महिनामा मात्रै आएर बीबीसी र सीएनएनमा गरियो । भारत र चीनमा गर्ने भनिएको प्रचारप्रसारको काम अब सन् २०१२ मा मात्रै हुनेछ । अभियानले संख्यात्मक रुपमा लक्ष्य हासिल गर्न नसकेपनि द्धन्दका बेला विग्रिएको मुलुकको छवि सुधार्न भने सफल भएको अभियानका राष्ट्रिय संयोजक योगेन्द्र शाक्यको दाबी छ । 

अभियानले लक्ष्य प्राप्त गर्न नसक्नुमा सरकार, सरोकारावाला संघ, संस्था एवं निजी क्षेत्रको पनि कमजोरी रहेको उहाँको ठम्याई छ । अभियानका क्रममा उपभोक्ता माध्यममा जान नसक्नु नै प्रमुख कमजोरी भएपनि इम्पोसिबल मिसन पोसिबलमा परिणत भएको शाक्यको भनाइ छ । अभियानले पर्यटनको संबृद्धिका लागि आशा भने जगाएको उहाँले बताउनुभयो । 

राष्ट्रिय अभियानले लक्ष्य हासिल नगरेपनि यसले पार्ने दीर्घकालिन प्रभावलाई सफल प्रयासको रुपमा लिनुपर्ने समाजशास्त्री एवं पर्यटनविद् मिलनराज गर्तौलाको भनाइ छ ।

अभियानकै क्रममा अमेरिकाले नेपाल सुरक्षित गन्तव्यस्थलको रुपमा ट्राभल एड्भाइजरी जारी गर्नु, नेपाललाई अन्तर्राष्ट्रिय समुदायले पर्यटन कै माध्यमबाट सकारात्मक रुपमा हेर्नुलाई अभियानको सफलता मान्नुपर्ने शाक्यको भनाइ छ ।
अब अभियानको सफलता वा असफलताबारे टिका टिप्पणी गर्नुभन्दा अभियानका क्रममा भएका त्रुटि सच्याएर सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष अभियान सफल बनाउन केन्द्रित हुनुको विकल्प छैन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind