वर्षका व्यक्तिहरु

टाइमले पर्सन अफ द इयर-२०११ को रनर्सअपमा चिनियाँ कलाकार एई बेईबेई, राजकुमारी केट मिडलटन आदि छन्। टाइमको सूचीमा नपरेका तर विभिन्न कारणले चर्चामा आएका व्यक्तिहरूलाई पनि हामीले यहाँ समेटेका छौ। प्रस्तुत छ, २०११ का चर्चित व्यक्तिहरू।
विलियम एच म्याकरेभन
अलकायदा प्रमुख ओसामा बिन लादेनलाई मार्न वनाइएको नेप्च्युन स्पिेयर अपरेसनका मास्टर माइन्ड हुन् चिफ भाइस एडमिरल विलीयम एच म्याकरेभन। उनकै कमान्डमा गएको अमेरिकी सेनाले २०११ को मे २ मा पाकिस्तानको एबोटावादमा रहेको एक रहस्यमय घरमा लुकेर वसेका लादेनविरुद्ध सफल कारबाही गरेको थियो। उक्त मिसन सुरु गर्नुअघि अमेरिकी राष्ट्रपतिले म्याकरेभनसँग तीन पटक छलफल गरेका थिए। म्याकरेभनलाई टाइम म्यागजिनले यस वर्ष पर्सन अफ द इयरको रनर्सअपमा राखेको छ। पत्रकारितामा मास्टर्स गरेका ५५ वर्षीय म्याकरेभन सान एन्टिनियो टेक्सासमा जन्मिएका हुन्।
केट मिडल्टन
मध्यमवर्गीय परिवारमा जन्मिएकी केट मिडल्टन बेलायतको राजपरिवारमा बुहारी बनेर भित्रिइन्। यो एउटा चर्चाको विषय थियो भने अर्को चाहिँ उनले लगाउने पहिरन। बेलायती राजकुमार विलियमसँग विवाह-बन्धनमा बाँधिएकी केट फेसनमा माहिर मानिन्छन् र उनले लगाउने पहिरनको सधैं चर्चा हुन्छ। विभिन्न पत्रिका तथा संस्थाले निकाल्ने उत्कृष्ट पहिरनको सूचीमा कैयौं पटक परेकी छिन् उनी। टाइम म्यागजिनको २००७ र २०१० को बेस्ट ड्रेस लिस्टमा केटको फिचर प्रकाशित भएको थियो। विश्वका थुप्रै युवतीको फेसन आइकन हुन् उनी। केटले लगाउने स्कर्टदेखि अन्य पहिरनको नक्कल गर्दै सामान निकाल्ने होड पनि चलेको छ।
आङसाङ सुकी
१९ वर्ष लामो नजरबन्दीपछि रिहा भएकी म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसाङ सुकी पुनः राजनैतिक मूलधारमा आएकी छिन्। उनले गत वर्ष त्यहाँ भएको निर्वाचनलाई अलोकतान्त्रिक भन्दै वहिष्कार गरेकी थिइन्। चुनाव वहिष्कारपछि त्यहाँको तत्कालीन सरकारले सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीलाई अवैध घोषणा गरेको थियो। तर, अहिलेको गैरसैनिक नेतृत्वको सरकारले राजनैतिक सुधारको कदम अघि बढाउन थालेपछि सुकी फेरि राजनैतिक मूलधारमा आउने भएकी हुन्। सन् १९९१ मा नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई उनकै निवासमा नजरवन्द गरिएको थियो।
यिङ्लक सिनावात्रा
थाइल्यान्डमा प्रथम महिला प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेकी छिन् यिङ्लक सिनावात्राले। ६० प्रतिशत अर्थात् ५ सयमध्ये २ सय ९६ जना विधेयकले भोट दिएपछि यिङ्लक थाइल्यान्डको २८ औं प्रधानमन्त्री भएकी हुन्। थाइ पिउ पार्टीकी नेतृ यिङ्लक पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी हुन्। ४४ वर्षीय यिङ्लकलाई राजनैतिक अभ्यास कम तर सुन्दर अनुहार भएकी नेतृका रूपमा लिइन्छ। उनका दाजु थाक्सिनलाई सन् २००६ को सेप्टेम्बरमा सैनिक विद्रोहद्वारा हटाइएको थियो।
भ्लादिमिर पुटिन
रूसमा प्रधानमन्त्री भ्लादिमिर पुटिनविरुद्ध आन्दोलन भैरहेको छ। यसबीच उनले सन् २०१२ मा हुने राष्ट्रपति निर्वाचनका लागि सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका छन्। खासगरी डिसेम्बर ४ मा भएको आमचुनावलाई लिएर विपक्षी पार्टी विरोधमा उत्रिएका हुन्। उक्त निर्वाचनमा धाँधली भएको विपक्षीहरूको आरोप छ। यसअघि उनी सन् २००० देखि २००८ सम्म राष्ट्रपति थिए। सन् १९९८ मा पनि राजनीतिमा कहीं-कतै नदेखिएका र नसुनिएका पुटिनको आकस्मिक उदयले त्यहाँका मै हँु भन्ने शक्ति र व्यक्तिलाई ठेगान लगाइदियो। सामान्य कर्मचारी पुटिन सोभियत संघ विघटनको नौ वर्ष बित्न नपाउँदै मुलुकको प्रधानमन्त्री भएका थिए।
सिल्बियो बुर्लोस्कोनी
करिब १७ वर्षदेखि मुलुकलाई राजनीतिक दबदबामा राख्दै आएका इटालीका प्रधानमन्त्री सिल्बियो बुर्लोस्कोनीले यस वर्ष आफ्नो पदबाट राजीनामा दिए। विपक्षीको चर्को दबाब खेप्दै आएका प्रधानमन्त्रीले संसद्को तल्लो सदनबाट सरकारी खर्च कटौतीको प्रस्ताव पारित भएपछि राजीनामा दिएका हुन्। रामस्थित आफ्नो निवासबाट राजीनामा दिन राष्ट्रपति कार्यालय जाँदा जनताले उनीविरुद्ध नाराबाजी गर्नुका साथै अपशब्द प्रहार गरेका थिए। ७३ वर्षीय बुर्लोस्कोनी आफ्नो कार्यकालमा मुलुक चरम वित्तीय संकटमा फसेपछि आलोचित बनेका हुन्। उनी सेक्स स्क्यान्डलका कारण पनि चर्चामा रहँदै आएका थिए।
अन्ना हजारे
सिंगो भारतलाई भ्रष्टाचाररहित बनाउन लागिपरेका छन् सामाजिक अभियानकर्ता अन्ना हजारे । महाराष्ट्रको अहमद नगरको झिंर गाउँमा जन्मिएका हजारे भ्रष्टाचारविरुद्ध सशक्त कानुनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। भ्रष्टचारविरुद्धको यो अभियानले त्यहाँको सरकारलाई थर्कमान बनाएको छ। व्यापक जनसमर्थन पाएका हजारेले यो आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन्। उनको वास्तविक नाम किसन बाबुराव हजारे हो। ६० को दशकमा फौजमा लागेका हजारेले आफ्नै गाँउवाट समाज सुधारको काम थालेका हुन्।
वे बेईबेई
चिनियाँ मुलका बेइबेइ बहुप्रतिभाका धनी हुन्। चीनका समकालीन कलाकार, आर्टिस्ट, आर्किटेक, शिल्पकार, फोटोग्राफरहरूमा उनले विशेष ख्याति कमाएका छन्। सन् २००८ मा बेइजिङमा सम्पन्न ओलम्पिक खेलकुदका लागि बनाइएको नेसनल स्टुडियोका क्रिएटिभ सल्लाहकार हुन् उनी। मानवअधिकार र प्रजातन्त्रका पक्षधर बेइबेइ चिनियाँ सरकारका प्रखर आलोचक हुन्। विद्रोही कविका छोरा वेविरुद्ध त्यहाँको सरकारले भ्रष्टाचारको अभियोग लगाएको छ।
पल रायन
हाउस कमिटी अन द बजेटका अध्यक्ष तथा रिपब्लिकन पार्टीका सदस्य हुन् पल। उनी आर्थिक नीतिका लागि पार्टीमा प्रभावशाली मानिन्छन्। १९७० जनवरी २९ मा जन्मिएका पललाई टाइम म्यागजिनले पर्सन अफ द इयर- २०११ को रनर्सअपमा राखेको छ। पलले ओहियोस्थित मियामी विश्वविद्यालयबाट ग्रेजुएसन गरेका हुन्।
मोहम्मद बाउजिजी
शैक्षिक बेरोजगार मोहम्मद वाउजिजीको आत्महत्यापछि नै अरब राष्ट्रमा तानाशाहीविरुद्धको आन्दोलन प्रारम्भ भएको हो। स्नातक वाउजिजी फुटपाथमा फलफ्ूल र सागसब्जी बेचेर परिवारको गुजारा चलाउँदै आएका थिए। कमाएको केही अंश त्यहाँका भ्रष्ट पुलिसले लगिदिन्थे। त्यति हुँदाहँुदै पनि प्रशासनले उनको स्टल उखेलेर फ्याँकिदियो, डिजिटल तराजु चुँडाइदियो र उनलाई कुटपिटसमेत गरियो। आयआर्जनको एक मात्र स्रोत गुमाउनुपरेपछि उनले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरे। उनको आत्महत्यासँगै स्थानीय जनता सरकारविरुद्ध खनिए। यहींबाट सुरु भयो चमेली क्रान्ति, जसले गर्दा त्यहाँका तानाशाह अल अविदिन अलि देश छाडेर भाग्न बाध्य भए।
किम जोङ उन
उत्तर कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति किम जोङ इलको निधनसँगै उनका उत्तराधिकारीका सम्बन्धमा विश्व जगत्कै ध्यान तानियो। अन्ततः उनका कान्छा छोरा किम जोङ उन आणविक शक्ति सम्पन्न मुलुक उत्तर कोरियाका सर्वेसर्वा बनेका छन्। उन इलकी तेस्री श्रीमतीबाट जन्मिएका छोरा हुन्। देशको शक्तिशाली रक्षा नियोगमा नियुक्त गरिएपछि नै उनलाई उत्तराधिकारी बनाइने अनुमान गरिएको थियो। बुबाका पि्रय उनलाई आमाले 'मर्निङ स्टार किङ'को उपनाम दिएकी थिइन्। दाइले जस्तै स्वीजरल्यान्डमा पढे पनि उनमा पश्चिमा प्रभाव भने रहेन। उमेरले ३० वर्ष नकाटेका उन राजनैतिक रूपमा त्यति परिपक्व नभएको बताइन्छ। उनको बानीबेहोरा भने सार्वजनिक भएको छैन।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind