कानुन व्यवसायीको सम्मेलन सुरु, राष्ट्रपतिद्वारा उद्घाटन ।।


राष्ट्रपति डा रामवरण यादवले शान्ति प्रक्रिया टुङ्ग्याई संविधान जारी गर्ने लभभग अन्तिम अवस्थामा मुलुक आइपुगेको हुँदा अब यी काम सम्पन्न गर्न आइपर्ने चुनौतीलाई सामना गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको बताउनुभएको छ ।
उहाँले अबको संविधान जनताले आफ्नो भन्ने खालको बन्नुपर्ने पनि बताउनुभयो  । नेपाल बार एसोसिएसनले आयोजना गरेको १२ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति डा यादवले अब बन्ने संविधान जनताका आर्थिक, सामाजिक, राजनीतिकलगायतका सबै अधिकार सम्बोधन गर्ने खालको हुनुपर्छ भन्नुभयो । राष्ट्रपति डा. यादवले शक्ति पृथकीकरण र सन्तुलन, मौलिक अधिकार र स्वतन्त्र न्यायपालिका संविधानका अनिवार्य सर्त भएको बताउनुभयो । उहाँले २१औँ शताब्दीअनुरुपको कानुनी एवम् न्यायिक चुनौती र अवसरलाई सामना गर्न तयार रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । विसं २०६२÷०६३ को जनआन्दोलनमा नेपाल बारको भूमिका उच्च रहेको उल्लेख गर्दै उहाँले सो भूमिकालाई कायम राख्न आग्रह गर्नुभयो ।

सम्मेलनमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको अत्यन्तै संवेदनशील र महत्वपूर्ण समयमा भइरहेको भन्दै शान्ति र संविधान निर्माण प्रकृयासँग पनि अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । उहाँले नेपालको राजनैतिक आन्दोलनको इतिहासमा नेपाल बार एउटा पेशागत संगठन भए पनि नेपाली जनताको पक्षमा हुँदै आएका आन्दोलन, संघर्ष र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिने संस्था भन्दै प्रशंसा पनि गर्नुभयो । उहाँले प्रत्येक कानून व्यवसायी न्यायालयको अधिकारीको हैसियतले कानूनी शासनको अग्र प्रतिरक्षकको रुपमा उभिन सक्नु पर्ने बताउनुभएको छ ।
कार्यक्रममा कानुन तथा न्यायमन्त्री वृजेशकुमार गुप्ताले न्यायपालिका र व्यवस्थापिकाबीचमा अधिकारका विषयलाई लिएर द्वन्द्व हुन नहुने भन्दै एकले अर्कोको अधिकार र सीमालाई बुझ्नु अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले ठूला पार्टी र नेताका कारण सभासद्हरु आलोचनाका पात्र बन्नु परेकाले ठूला पार्टीका नेताले पार्टी स्वार्थलाई त्यागेर शान्तिप्रक्रिया पूरा गर्न र संविधान लेखनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै महान्याधिवक्ता मुक्ति प्रधानले २१ औँ शताब्दीको न्यायपालिका जनउत्तरदायी र पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।

कानून व्यवसायीहरुको सम्मेलन प्रत्येक तीन तीन वर्षमा हुने गरेको छ । सम्मेलनमा देशभरका तीन हजार कानून व्यवसायीले भाग लिएका छन् । तीन दिनसम्म चल्ने सम्मेलनले शान्ति र संविधानको विषयमा दबाब दिनका लागि आगामी रणनीतिसमेत तयार गर्ने बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरु, कानून व्यवसायीहरुको पेशा र हकहितका लागि व्यवसायीकरण गर्दै लैजाने विषयमा समेत सम्मेलनमा छलफल हुनेछ । त्यसअघि विहान भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरि सहिदगेट, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा गई समापन भएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind