दुर्लभ दृश्य (फोटो फिचर सहित )


खगोलशास्त्रमा रुची राख्नेहरुका लागि बुधबार बिहान साढे ५ घण्टाको अवधि निकै महत्वपूर्ण रहृयो । शुक्र ग्रहको छायाँ सूर्यमा परेको दुर्लभ दृश्य हेर्नको लागि यो अवधि महत्वपूर्ण बनेको हो । नेपालका खगोलविद तथा खगोलशास्त्रमा रुची राख्नेहरुले बिहान ५ बजेर १० मिनेटदेखि १० बजेर ३६ मिनेटसम्मको अवधिमा अरु सबै काम छाडेर यो दृश्य हेरे ।

‘यस्तो दृश्य विरलै मात्र देख्न पाइन्छ, सूर्य र पृथ्वीबीचको दूरी तथा ब्राम्हाण्डबारे थप जानकारी हासिल गर्न सकिने भएकाले हामीले बिहान यो दृश्यको अवलोकन गर्यौं’ नेपाल खगोलीय समाजका सचिव सुरेश भट्टराईले भन्नुभयो । समाजले राजधानीको नेपालटार स्थित युरेका हाईस्कूलमा यो दृश्य अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो । ‘नांगो आँखा, दूरबीन, ऐना तथा पानीको प्रतिबिम्बबाट हेर्न नमिल्ने भएकाले समाजले आफ्नै विशेष टेलिस्कोपको व्यवस्था गरेको थियो’ भट्टराईले भन्नुभयो -’आज मौसम सफा भएकाले पनि हामीलाई अध्ययन गर्न निकै सजिलो भयो ।’
खगोलशास्त्र पढाई हुने राजधानी सहित देशका बिभिन्न स्कूल तथा क्याम्पसहरुमा पनि सूर्य नजिक आएको शुक्रको दृश्य हेर्ने व्यवस्था मिलाइएको थियो । ‘शुक्र ग्रहको छायाँ बिस्तारै सूर्यभित्र पसेर बाहिर निस्केको दुर्लभ दृश्य मज्जाले हेर्न पाइयो’ खगोलीय समाजका सचिव भट्टराईले भन्नुभयो ।
पृथ्वी, शुक्र र सूर्य एउटै सरल रेखामा पर्दा शुक्र ग्रहको छायाँ सूर्यमा पर्दा यो दृश्य देखिन्छ । यसर्लाइ खगोलविदहरुले भेनस ट्रान्जिटको अवस्था भनेर नाम दिएका छन् । यो दृश्य शताब्दीमा दुई पल्ट मात्रै देखिने खगोलविदहरुको भनाई छ । यसअघि सन् २००४ मा यस्तो दृश्य देखिएको थियो । अब १ सय ५ वर्षपछि सन् २११७ मा यस्तो दृश्य देखिन्छ ।
नेपाल सहित विश्वका सबै देशहरुमा सूर्योदयसँगै यो दृश्य देखिएको थियो । अमेरिका र अष्ट्रेलिया लगायतका देशहरुमा बुधबार बेलुकीदेखि नै यो दृश्य देखियो भने दक्षिण पूर्वी एशियाका देशहरुमा भने बिहीबार यो दृश्य देखिएको छ । नेपालमा सूर्यमा शुक्र ग्रहको पहिलो स्पर्श ३ बजेर ५४ मिनेटमा शुरु भएपनि बिहान ५ बजेर १० मिनेटमा सूर्योदय भए लगत्तै यो दृश्य देखिएको थियो ।
तस्वीरः एजेन्सी

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind