सामूहिक बलात्कार चार वर्षमा १५ घटना


तुलसीपुर प्रहरीलाई शनिबार मध्यरातमा एक किशोरीको फोन आयो, 'बसपार्कमा चार जनाले मलाई बलात्कार गरे, बचाउन आउनुपर्‍यो ।' अघिल्लो दिनमात्रै १५ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला पारेपछि पक्राउ गर्‍यो ।
शुक्रबार अपराह्न मात्रै १५ वर्षीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ वर्षीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा पनि प्रतिकार नगरेको देखिएको उनले बताए । 'चौथो युवा पनि थपिएपछि मात्र बलात्कार भनेर फोन आयो,' उनले भने, 'आपसी अविश्वासको अभावमा यस्ता घटना भइरहेका छन् ।'
बलात्कृत किशोरी पनि प्रहरीको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धान भइरहेको र थप तथ्य पत्ता नलागेको डीएसपी कार्कीले बताए । फूलबारी ६ ढकनाको जंगलमा शुक्रबार १५ वषर्ीया किशोरीले 'सामूहिक बलात्कार' भएको बताएकी थिइन् । मुख छोपेका चार युवाले लछारपछार पारेको र त्यसपछि बेहोस भएकाले केही थाहा नपाएको ती किशोरीले बताइन् । किशोरी निर्वस्त्र अवस्थामा फेला परे पनि बलात्कार हो/होइन या प्रयास मात्र हो भन्नेबारे मेडिकल चेकजाँचको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने डीएसपी कार्कीले
जनाए । ती किशोरी निकै हतोत्साहित अवस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।
चार वर्षमा १५ घटना
दाङ गढवाकी २५ बर्षीया  युवतीको २०६६ चैतमा बिजौरीमा सात जनाद्वारा सामूहिक बलात्कार भई २०६७ जेठ ३० मा उपचारका क्रममा मृत्यु ।
रुकुमकी १८ बर्षीया  एक युवतीलाई तुलसीपुरको बसपार्कस्थित न्यु राप्ती गेस्ट हाउसमा बास बसेको समयमा १० जना युवाद्वारा २०६७ असार १५ मा अपहरणपछि सामूहिक बलात्कार ।
    २०६७ साउन १७ मा घोराही नगरपालिका ४ चौघेरामा ११ बर्षीया  बालिकालाई बलात्कार ।
    तिजमा माइती जाने क्रममा सौडियारकी एक महिलामाथि २०६७ भदौ ५ मा बिजौरीमा सामूहिक बलात्कार ।
    तुलसीपुरका एक बुबाले १५ बर्षीया  छोरीमाथि नियमित यौन शोषण गर्दै आएको रहस्य २०६७ मंसिर १० गते खुलेको ।
    २०६७ पुस १२ गते पुरन्धारामा ४६ बर्षीया  महिलालाई दुई प्रहरीद्वारा सामूहिक बलात्कार ।
    २०६७ माघ र फागुनमा हापुरमा दुई महिलामाथि सामूहिक बलात्कार ।
    २०६७ फागुनमा तुलसीपुर बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार ।
    २०६७ चैत ११ गते अपराह्न ४ बजे घोराही ६ मा एक युवतीमाथि सामूहिक बलात्कार ।
    २०६७ चैत २९ गते तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार ।
    घोराही काठेकोलमा कम्लरी बलात्कृत ।
    २०६८ असार ९ गते टरिगाउँकी १० बर्षीया  बालिका घरैमा बलात्कृत ।
    २०६८ असार १८ गते तुलसीपुरमा एक बालिकालाई गाडीका चालक र सहचालकद्वारा बलात्कार ।
    २०७० असार २१ गते फूलबारी ६ ढकनाको जंगलमा १५ बर्षीया  किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार ।
    २०७० असार २२ गते राति तुलसीपुर बसपार्कस्थित एक ग्यारेजमा १७ बर्षीया  किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind