एकै दिन १५ पटक लोडसेडिङ

विद्युत् प्राधिकरणले प्रसारणमा अनियमितता गर्दा यहाँ आइतबारमात्रै १५ पटक लोडसेडिङ भएको छ । दिनभर विद्युत् आउने/जाने गर्दा शनिबार पनि उपभोक्ता हैरान थिए । समूह १ अन्तर्गत नारायणगढ क्षेत्रमा साँझ १५ पटक लाइन काटिएको थियो ।
प्राधिकरणले भरतपुर, गैंडाकोट, चनौली, पर्सा क्षेत्रमा समेत १० पटकभन्दा बढी लाइन काटेको हो । नारायणगढ जानकीचोकमा रूखको हाँगा अल्झेर निकाल्दा प्रसारण अवरुद्ध भएको जवाफ प्राधिकरणले दिएको छ ।
केही दिनदेखि अनियमित रूपमा बिजुली जाने/आउने गर्दा यहाँका उपभोक्ता हैरान परेका छन् । उद्योग, कलकारखाना, कम्प्युटर व्यवसायी, सञ्चार क्षेत्र सातादेखि सबैभन्दा बढी मर्कामा परेका छन् । चट्याङ पर्दा मात्र बन्द गर्ने बिजुली झरी सुरु हुनेबित्तिकै काटिन्छ ।
आइतबार कति पटकसम्म लोडसेडिङ भयो भन्ने विषयमा 'नो लाइट' का कर्मचारी अनभिज्ञ थिए । '१५/२० पटक गयो होला हजुर, हिसाब राखेका छैनौं,' एक कर्मचारीले बताए । ग्राहकले बिजुली कतिबेला आउँछ भनेर २४ घन्टा सोधेर हैरान पारेको दुखेसो पोखे ।
प्राधिकरणको प्राविधिक शाखाको गैरजिम्मेवारीपनले अनियमित विद्युत् काटिएको ग्राहकले गुनासो गरे । बजारमा तारको भद्रगोल अवस्था, पहुँचका आधारमा लाइन वितरण, परिपक्व ढंगले तार टाग्ने काम नगर्दा विद्युत् अवरुद्ध हुँदै आएको छ ।
'विद्युत् जाने/आउने सूचना नपाउँदा ग्राहकलाई ठूलो मर्का परेको छ, नागरिक न्यायिक उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष प्रकाश पन्तले भने, 'वर्षा लाग्नेवित्तिकै सधंैभरि प्राधिकरणले यस्तै हैरानी दिँदै आएको छ ।' यसले उद्योग, कलकारखानाको उत्पादनलाई चौपट पार्ने उनले बताए ।
समस्या अझै केही व्यहोर्नुपर्ने प्राधिकरण कर्मचारी बताउँछन् । ११ हजार केभी प्रसारण लाइनको तारमुनि परेको लाइन बिस्तारले समस्या बनाएको गुनासो गरे । 'तार व्यवस्थापन मिलाउन नसक्दा लोडसेडिङ अनियमित भएको हो,' प्रधिकरण भरतपुर शाखा प्रमुख उमेशकुमार झाले भने, 'ग्रामीण क्षेत्रमा बिस्तार गरिएको लाइन मर्मत समस्या बल्झिएको हो ।'

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind