अब को त जेपी को ठाउमा ?????


''मधेसी राजनीतिमा ढिलो आएर पनि रजाईं गर्न सफल भएका जेपीको त्यो खाली ठाउँमा उभ्याउन यादव मात्रै होइन, विजयकुमार गच्छदार पनि कान ठाडा पार्दैछन्''

जेपी गुप्ता भ्रष्टाचारको आरोपमा जेल जाँदा अरुलाई भन्दा बढी खुशी उपेन्द्र यादवलाई बनाएको छ । एकजना भ्रष्टाचारी जेल परे भनेर मात्रै उनलाई सन्तोष लागेको होइन ।
आफूलाई धोका दिंदै पार्टी फुटाएर गएको मान्छे बल्ल ठेगान लाग्यो भनेर उनलाई गद्गद् बनाएको हो । संविधानसभा चुनावमा मधेसको सबैभन्दा ठूलो शक्ति भएर उदाएको आफ्नो पार्टीलाई स्वाट्सुट्टै चोइटाएर ठुटो बनाएको बदला लिने उपयुक्त अवसर भएको छ यादवलाई अहिले ।
त्यसैले उनी माऊबिहीन भएर छटपटाईरहेका फोरम गणतान्त्रिकका नेता कार्यकर्तालाई फकाई फुलाई गरेर घर फर्काउने दाउमा छन् । आफ्नो गिरेको साखलाई फेरि पुरानै ठाउँमा ल्याउन सकिन्छ भन्ने उनको आशा पलाएको छ । बाबुराम भट्टराईलाई साथ दिनकै लागि पार्टी फुटाएर सिंहदरबार कुदेका जेपीले मधेसका सबैलाई उछिन्दै हालिमुहाली गर्न थालेको बदला लिने बेला पनि यही हो ।
मधेसी राजनीतिमा ढिलो आएर पनि रजाईं गर्न सफल भएका जेपीको त्यो खाली ठाउँमा उभ्याउन यादव मात्रै होइन, विजयकुमार गच्छदार पनि कान ठाडा पार्दैछन् । एकातिर उपेन्द्रको पार्टी सहभागी नभएको मधेसी मोर्चाले पनि दह्रो नेताको अभाव महसुस गर्ने छ भने अर्कोतिर मधेसको राजनीतिमा एजेण्डाका आधारमा राजनीति अघि बढाउने नेताको पनि कमी महसुस हुने देखिन्छ । यस्तो अबस्थामा जेपीको स्थान कसले लिन्छ भनी मधेसी पार्टीका नेता कार्यकर्ता अड्कलवाजी गर्न थालेका छन् ।

मधेस राजनीतिका विश्लेषक तुलानारायण साहको भनाईमा मधेस राजनीतिको हालिमुहाली गर्ने ठाउँमा पुग्ने दौडमा यादव भन्दा गच्छदार अघि छन् । ‘पछिल्ला ५/६ वर्षमा मधेसको राजनीतिक एजेण्डा राष्ट्रिय राजनीतिमा स्थापित भएका छन्, परिपक्व पनि भएका छन्’ साहले भन्नुभयो -’तर समावेशी, संघीयता जस्ता मधेसको मुद्दा परिपक्व र स्थापित भएपनि नेतृत्व भने त्यो अनुसार परिपक्क हुन सकेको छैन ।’
माओवादी, कांग्रेस र एमालेमा जस्तो मधेसका कुनै पनि दलमा जुझारुपन नरहेको र यादवको पार्टीसित त झन् त्यो क्षमता अलिकति पनि नरहेको साहको भनाई छ । उहाँको भनाईमा अग्रपंक्तिमा रहेका मधेसका तीन नेता उपेन्द्र यादव, महन्थ ठाकुर र विजयकुमार गच्छदारमा गच्छदार सबैभन्दा अघि छन् । ‘छोटो समयमा पनि अघि बढेका र यतिबेला राष्ट्रिय राजनीतिमा पनि रहेका कारण अबको मधेस राजनीति गच्छदारकै अगुवाईमा हुने निश्चित छ’ साहले भन्नुभयो । यादवसित परिपक्वता र नेतृत्व क्षमता नरहेकै कारण फोरम टुक्रिएको उहाँले बताउनुभयो ।
तर अर्का विश्लेषक प्रशान्त झाको भनाईमा अहिले नै यादव या गच्छदारमध्ये यो नै आउँछ भनेर भन्न सकिन्न । ‘गुप्ता, यादव र गच्छदारको राजनीतिक पृष्ठभूमि र भूमिका बेग्लाबेग्लै भएकाले गुप्ताको ठाउँ यसले या त्यसले लिन्छ भनेर भन्न सकिन्न’ झाले भन्नुभयो -’राजनीतिक यथार्थको हिसाबले अहिले पनि गच्छदारको पार्टी ठूलो हो । तर जेपी पछि पनि गणतान्त्रिकको नेतृत्व सम्हाल्न सक्ने अरु नेता भएकाले त्यहाँ हलचल हुने अवस्था छैन । यादवको पार्टी पनि आफ्नो ठाउँमै छ ।’ मधेस मुद्दामा प्रखर रुपमा उत्रिएका र प्रवक्ताको भूमिका निभाएका गुप्ताको ठाउँमा स्थापित नेता या अरु कुनै नयाँ आउन सक्ने सम्भावना रहेको झाले बताउनुभयो ।
तर मधेसी कार्यकर्ताले गच्छदारलाई मधेसीको हैसियत नदिने र बिश्वास नगर्ने दावी एकथरीको छ । सत्ता र शक्ति गच्छदारको साथमा भएपनि मधेसका एजेण्डा स्थापित गर्न चुकेका कारण उनको नेतृत्वमा भरोस गर्ने अबस्था नरहेको उनीहरुको दावी छ । वर्तमान सरकारमा गृहमन्त्री रक्षामन्त्री दुवै रहेका गच्छदारले मधेसीका एजेण्डा पुरा गराउन चासो नदिएर मधेसलाई धोका दिएको अधिकांश मधेसीहरुको बुझाई रहेको छ । यस्तो अबस्थामा गच्छदारभन्दा उपेन्द्र बढि मधेसवादी, बढि सिद्धान्तनिष्ट र बढि इमान्दार देखिन्छन् । तर मधेसको राजनीति सिद्धान्तभन्दा पैसामा बिक्ने यथार्थ बुझेका गच्छदार उपेन्द्रबाट त्यति डराएका देखिन्नन् ।
त्यसो त पहिले फोरममै रहेका यादव र गच्छदारकै वरिपरी केही समय मधेसको राजनीति घुमेको थियो । अब गुप्ता कहिल्यै राजनीतिमा शिर ठाडो पार्न नसक्ने गरी थन्किएका छन् । कांग्रेस पालादेखि नै राजनीतिका चतुर खेलाडि र वाककलामा निपूर्ण मानिएका गुप्ताको खाली ठाउँ लिने हैसियत महन्थ ठाकुर, हृदयेश त्रिपाठी र राजेन्द्र महतोसित छैन । त्यसो हुँदा मधेस राजनीतिमा हालीमुहाली गर्ने पालो उपेन्द्र यादव र विजयकुमार गच्छदारकै हो ।
राज्यशक्ति र कार्यकर्ता संख्याको हिसाबले यादवभन्दा गच्छदार अघि छन् । तर राजनीतिक सम्बन्धको हिसाबले गच्छदारभन्दा यादव अग्रपंक्तिमा छन् । सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित यादवको सम्बन्ध निकै राम्रो मानिन्छ । शक्ति र दलभन्दा कहिलेकाहीं राजनीतिक सम्बन्ध र बलियो आडको भूमिका पनि महत्वपूर्ण हुने भएकाले यादवलाई पनि कम आँक्न मिल्दैन ।
रानी बिनाको मौरी जस्ता भएका फोरम गणतान्त्रिका नेताकार्यकर्तालाई यादव र गच्छदारमध्ये कसले रिझाउन सक्छ भन्ने पाटो पनि एकातिर छ । किनकी गुप्तापछि गणतान्त्रिकलाई नेतृत्व लिएर अगाडि बढाउन सक्ने हैसियत अरुमा त्यति देखिँदैन । गुप्ताले केहीदिन जेलबाटै पार्टी चलाएपनि यो दीगो हुन सक्दैन । त्यसो हुँदा गुप्ता र गच्छदारमध्ये कसले बाजी जित्ला भन्ने कुरा थाहा पाउन केही दिनको राजनीतिक घटनाक्रम र फोरम गणतान्त्रिकको भविष्य नै पर्खनुपर्ला । यो दौडमा गच्छदार सत्ता र पैसाको शक्तिरुपी अस्त्र प्रयोग गर्नेछन भने उपेन्द्रले चर्कै मधेसवाद र सिद्धान्तनिष्ट राजनीतिको हतियार प्रयोग गर्नेछन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind