शीर्ष नेताहरुको बैठक आज बस्दै


शान्ति र संविधानका विवादित विषयमा सहमति जुटाउन कार्यविभाजन गरेका मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । नेपाली काङ्ग्रेस सभापति सुशील कोइराला निबास महाराजगन्जमा अहिले केहीबेरमा बैठक सुरु हुनेछ । आजको बैठकमा नेताहरुले पाएको जिम्मेवारी अनुसार शान्ति प्रक्रिया र संविधान लेखनका विवादमा सहमतिको खाका पेश गर्ने र त्यसमाथि छलफल हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो । विवादित सबै बिषय एकसाता भित्र समाधान गर्ने सहमति अनुसार आज नेताहरुबीच छलफल हुन लागेको हो । हिजो बस्ने भनिएको मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक व्यस्तता र तयारी नपुगेकोभन्दै आजका लागि सारिएको थियो । अस्ति बसेको शीर्ष नेताको बैठकले शान्तिप्रक्रिया र सेना समायोजनसम्बन्धी विवादमा सहमति खोज्ने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको थियो भने विगतका सम्झौता अनुसार आयोगहरु गठनको प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा प्रस्ताव पेश गर्न काङ्ग्रेस सभापति सुशील कोइरालालाई र संविधान लेखनका विवादित विषयमा सहमति खोज्नेबारेको योजना प्रस्तुत गर्ने जिम्मा नेकपा एमाले बरिठ नेता माधव नेपाललाई दिइएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind