आज महाशिवरात्री ।।
महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । काठमाडौको पशुपतिनाथमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि आज विहान साढे ३ बजेबाट नै पशुपतिनाथको चारै ढोका खुला गरिएको थियो । आधा घन्टाभित्र भक्तजनले दर्शन गर्न सक्ने सुविधा मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको हो भनिन्छ । व्रतोत्वहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास बसी रातभर जाग्राम रहे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।
यसैबीच उपराष्ट्रपति परमानन्द झाले हिन्दु धर्मावलम्बीहरूको महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै देश–विदेशमा रहेका सबै देशप्रेमी नेपालीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी नेपाली काँग्रेसले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गरेको छ । पार्टी सभापति सुशील कोइरालाद्वारा जारी शुभकामना सन्देशमा आफू र आफ्नो पार्टीका तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind