जेठ १४ गतेभित्रमा संविधान बन्छ: डा. भट्टराई
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आउने जेठ १४ गतेभित्रमा संविधान बन्ने दाबी गर्नुभएको छ । श्री जुद्ध उच्च माध्यमिक विद्यालय गौरको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले राजाको पालामा बनेका सविधानलाई यथावत् राख्ने पार्टीहरुले सविधान बन्न नदिन, सविधानसभाको अन्त्य गर्न सकेको कोसिस जारी राखेको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले शान्ति र संविधानका विरुद्धमा हुने कुनै पनि षड्यन्त्रको विरुद्ध उभिन सबैलाई आग्रह पनि गर्नुभयो । देशमा अब सङ्घीय व्यवस्थासहितको सविधान बनाउनुको कुनै विकल्प नभएको पनि प्रधानमन्त्रीले बताउनुभयो । अब केही दिनमै शान्ति र संविधानका सम्बन्धमा निर्णायक सहमति हुने दाबी पनि उहाँले गर्नुभयो ।
छिमेकी देशहरुसँग मिलेर साधनस्रोतको माध्यमबाट लाभ लिएर विकास निर्माणको काममा सबै जुट्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।
संविधान बनाउन फेरि नयाँ सम्झौता गर्नु पर्ने माओवादी नेता गुरुङको भनाइ ।
एकीकृत नेकपा माओवादीका मुख्य सचेतक देवप्रसाद गुरुङले जेठ १४ गतेभित्र संविधान निर्माण गरेर जारी गर्न फेरि नयाँ सम्झौता गर्न दलहरु तयार हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा गुरुङले सातबुँदे सम्झौता शान्ति, संविधान र सहमतिको सरकारको विषयमा पूर्णरुपमा काम गर्न नसकेको दाबी गर्दै दलहरु फेरि नयाँ सम्झौता गर्न वा विवादित विषयलाई प्रक्रियाबाट अगाडि बढाउन तयार हुनुपर्ने धारणा राख्नुभएको हो । उहाँले संविधान निर्माणका लागि समय कम भएकोले नयाँ सम्झौताको आधारमा निकासको खोजी गर्नुपर्ने बताउनुभयो । गुरुङले शान्ति, संविधान र सहमतिको सरकार निर्माणको विषय अलग अलग रूपमा अगाडि बढ्नै नसक्ने ठोकुवा गर्दै सबै विषयलाई प्याकेजमै टुङग्याउने पर्ने धारणा पनि राख्नुभयो ।
यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले फागुन मसान्तसम्ममा शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसके प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कायमै राखेर मुलुकलाई बन्धक बनाउन नसकिने चेतावनी दिनुभयो । उहाँले सहमति हुन नसके प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिका लागि मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिनुभयो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक भीमप्रसाद आचार्यले फागुन मसान्तभित्र शान्ति प्रक्रिया अगाडि बढ्न नसके यो सरकार मुलुकको लागि अभिशाप प्रमाणित हुने भन्दै त्यसपछि अर्को सरकार बनाउन आफूहरु लाग्ने बताउनुभयो । आचार्यले शान्ति प्रक्रिया अगाडि बढे संविधानका विवादित विषयमा एक साताभित्र सहमति बन्ने दाबी गर्नुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind