माओवादीद्वारा समायोजनमा महत्वपूर्ण पद माग ।।
राजनीतिक तहमा निर्णय गरेर भए पनि सेना समायोजनमा लडाकूलाई महत्वपूर्ण पद दिनुपर्ने माओवादी प्रस्तावका कारण शीर्ष नेताहरुको आजको बैठक पनि सहमतिमा पुग्न सकेन । माओवादी लडाकूलाई सेना समायोजनमा महत्वपूर्ण पद दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई एमाले र काँग्रेसले अस्वीकार गरेपछि बैठकमा सहमति जुट्न नसकेको हो । शीर्ष नेताहरुको बैठक भोलि एमाले अध्यक्ष झलनाथ खनालको निवासमा बस्ने गरी टुङ्गिएको छ । काँग्रेस सभापति सुशील कोइराला निवासमा आज बिहान बसेको शीर्ष नेताहरुको बैठकमा माओवादीले नेपाली सेना मातहत बन्ने महानिर्देशनालयमा नेतृत्वदायी भूमिका मागेको थियो । तर, काँग्रेस र एमालेले भने सेनाको स्थापित मापदण्ड र सातबुँदे सहमतिअनुसार जानुपर्ने अडान दोहो¥याएका थिए ।
काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले नेपाली सेनाअन्तर्गत गठन हुने महानिर्देशलनालयमा माओवादी लडाकूहरुको जिम्मेवार उपस्थिति हुनुपर्ने माग गर्नुभएको तर आफूहरुले यो पक्ष र त्यो पक्ष भनेर नराखिकन सेनाको मापदण्डअनुसार सही अर्थमा समायोजन गर्न तयार हुनुपर्ने अडान राखेको बताउनुभयो । एमालेका नेता भीम रावलले पनि काँग्रेस, एमालेले समायोजनमा जाँदा सातबुँदे सहमतिमा उल्लेख भएभन्दा बाहिर जान नसकिने अडान राखिएको बताउनुभयो । सातबुँदेमा शिक्षा, उमेर र विवाहमा लचकता अपनाउन सकिने र समायोजन गर्दा नेपाली सेनाको वृत्ति विकासमा कुनै असर नपर्ने गरी गर्नुपर्ने उल्लेख भएको नेता रावलले बताउनुभयो । सातबँुदे सहमितमा छ हजार पाँचसय लडाकूलाई समायोजन गर्न सकिने उल्लेख छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind