• हिजो ‘लुट’ फिल्मको ५१ औँ दिनको पार्टीमा हिरोइन निशा अधिकारीले एक सञ्चारकर्मीको क्यामेरा खोस्ने प्रयास गरिन्। उनलाई साथ दिँदै मोडल तथा भीजे सहाना बज्राचार्यले पनि क्यामेरा खोस्दै गरेको त भिडियो नै टेलिभिजनहरुमा देखियो।
• ठ्याक्कै एक हप्ताअघि भुवन केसीको ‘साथी म तिम्रो’ फिल्मको प्रचारका लागि गरिएको पत्रकार सम्मेलनमा हिरोइन रेखा थापाले पत्रकारहरुलाई ‘यु क्यान गो आउट’ भन्दै गाली गरिन्।
आठ दिनको फरकमा भएका यी दुई घटनाले हिरोइन र सञ्चारकर्मीहरुको सम्बन्ध चिस्सिँदै गएको देखाएको छ। किन भयो त यस्तो ?
पहिलो घटनामा जाउँ। हिरोइन निशा अधिकारीले किन आफ्नो फोटो खिच्न लागेका सञ्चारकर्मीको क्यामेरा खोस्ने प्रयास गरिन् त? खासमा भएको के थियो त?
‘लुट’ को सफलताको खुसियालीमा सुन्धाराको आर्मी अफिसर्स क्लबमा भव्य पार्टी आयोजना गरिएको रहेछ। त्यही फिल्मका कलाकार बाहेक अन्य कलाकार र सञ्चारकर्मीहरु लगायत अरुको पनि उपस्थिति थियो त्यो पार्टीमा।
पार्टी मै उपस्थित एक अर्का सञ्चारकर्मीका अनुसार कलाकारहरु एकापसमा भेट्दा अङ्गालो हाल्ने चलन छ। त्यही अनुसार हिरोइन निशा अधिकारी र हिरो विराज भट्ट सार्वजनिक रुपमा सबैले देख्ने स्थानमा त्यसो गरिरहेका बेला ती सञ्चारकर्मी अनुप भट्टराई त्यहीँ थिए। त्यही बेला मेरो फोटो किन खिचेको भन्दै निशा अधिकारीले उनको क्यामेरा खोस्न खोजेकी रहिछिन्। यो भयो पहिलो घटना।
एकैछिनपछि फेरि दोस्रो घटना भयो। त्यति बेला निशा पार्टी स्थलको कुर्सीमा बसिरहेकी थिइन्। पुनः अनुपले फोटो खिचिरहँदा निशाले गाली गरिन्। अनि उनी सँगै बसिरहेकी मोडल तथा भीजे सहाना बज्राचार्यले त आक्रोशित भएर क्यामेरै खोसेको दृश्य टेलिभिजनका क्यामेराहरुमै कैद भयो।
दोस्रो घटनापछि चाहिँ विवाद अलि चर्कै भयो। हातै हालाहालको स्थिति समेत भयो। हिरोइनको पक्षमा बोलिरहेका नवराज आचार्यलाई त फ्लाइङ किक हानिएछ। कसले हान्यो त्यो चाहिँ थाहै भएन।
होहल्ला भएको केही समयपछि निशा र सहाना गायब भइन्। पछि मञ्चबाटै निशाले माफी मागिन्। सहाना चैँ चुपै बसिन्।
घटनाक्रम यति हो। अब यहाँ अनुत्तरित प्रश्न-
• सो बिजमा रहेका हिरोइनहरुको कामै देखिनु र देखाउनु हो। त्यसैले हिरोइनलाई फोटो खिच्नुसँग किन आपत्ति भयो ?
• अरु पत्रकारहरुले पनि उनको फोटो वा भिडियो खिचे होलान्। निशाले एउटै पत्रकारप्रति लक्षित गरी किन त्यस्तो दुर्व्यवहार गरिन् त ?
पत्रकारले लो एङ्गलबाट अर्थात् तलतिरबाट खिच्न खोजेको हुनाले निशा आक्रोशित भएकी हुन्।
के यो आरोप सही हो त ? मैले विवादको केन्द्रीय पात्र फिल्मीखबर अनलाइन र इ २४ टिभीका संवाददाता अनुप भट्टराईलाई केही समयअघि फोनमा सोधेको थिएँ। उनले भने, ‘यो बिल्कुल गलत आरोप हो। मसँग त एसएलआर क्यामेरा पनि थिएन एउटा सामान्य कम्प्याक्ट क्यामेरा थियो। लो एङ्गलमा खिच्न त बसेरै खिच्नुपर्छ। विराज भट्ट, दिनेश सिटौला, रेनाशा राईहरु प्रमाण छन्, मैले सोझो एङ्गलमा नै सामान्य फोटो खिचिरहेको थिएँ। विराज भट्ट स्वयं अचम्ममा परेका थिए मप्रति निशा आक्रोशित भएको देख्दा।’
त्यसो भए किन त यो सब ? एउटी हिरोइनलाई व्यक्तिगत पार्टीमा व्यक्तिगत कुरा गर्दैगर्दाको पनि हैन सार्वजनिक पार्टीमा सहभागी भइरहेकी बेला फोटो खिच्दा किन आपत्ति भयो त ?
हिरोइन निशा अधिकारीलाई पनि मैले फोन गरेको थिएँ। तर लामो समयसम्म रिङ जाँदा पनि उनको मोबाइल उठेन। त्यसपछि मैले एसएमएस गरेँ, ‘निशा जी, हिजोको घटनाबारे खाली पत्रकारहरुकै मात्र कुरा आयो, तपाईँको कुरा चाहिँ कतै आएन। खासमा के भएको हो बुझ्न तपाईँसँग कुरा गर्न चाहेको छु।’ केही समय कुर्दासम्म पनि उनको कुनै जवाफ आएन। विवादका मुख्य दुई पात्र मध्ये एक पात्रको भनाई सुन्न नपाए पनि बाँकी पक्षहरुसँग गएको कुराकानीका आधारमा यसको कारण यस्तो हुनुपर्छ-
• पहिलेदेखिको रिस : एउटा हिरोइन सामान्य फोटो खिचेको कारणमात्र रिसाउनु पर्ने कारणै छैन। कि त आपत्तिजनक व्यक्तिगत क्षणको फोटो खिचेको हुनुपर्यो। कि पहिलेदेखिको कुनै रिस हुनुपर्यो। अनुप भन्छन्, मैले नैना रेशम फिल्मको जोडी विराज भट्ट र निशा अधिकारीको सँगै उभिएको सामान्य फोटो मात्रै खिचेको थिएँ। पहिलो स्न्याप्स हान्दा निशाबाट खासै प्रतिक्रिया आएन तर अर्को एंगलमा दोस्रो स्न्याप्स क्लिक गर्ने बेलामा निशा एक्कासी बाघले झम्टिएझै मेरो क्यामेरा खोसिन् र भनिन्- तपाईलाई मेरो फोटो खिच्ने कुनै अधिकार छैन। अनुपको अनुमान छ, फिल्मीखबरमा उनले लेख्ने गरेका गसिप समाचारहरुप्रति उनको पहिलेदेखिको रिस हुनसक्छ। जस्तै निरक पौडेलसँगको अफेयर, प्रियङ्का कार्कीको बर्थ डे पार्टीमा निशाले केक गालामा दलेको आदि समाचार।
• थर्काउन खोज्नुः एक साताअघि अर्की हिरोइन रेखा थापाले आफ्नै गल्ती हुँदा पनि सारा पत्रकारलाई थर्काएर यु क्यान गो आउट भनेकी थिइन्। खासमा रेखा थापाले त्यो पत्रकार सम्मेलनमा शताब्दियौँदेखि क्रियाशिल कलाकार भनी भुवन केसीलाई भनेकी थिइन्। पत्रकारहरु गलल हाँसिहाले। शताब्दीको अर्थ त सय वर्ष हुन्छ, शताब्दियौँ भनेपछि सयौँ वर्षहरु भन्ने हुन्छ। शब्दको अर्थ नबुझी बोलेकी थिइन् रेखा। हाँस्ने त भइहाले। तर हाँस्दा रेखाको पारो चढेछ र सब पत्रकारलाई किन हाँस्नुहुन्छ, मलाई नसुन्ने भए बाहिर गए हुन्छ भनेकी रहिछिन्। त्यतिसम्म भनेपछि सबै पत्रकारहरु खुरुक्क लाएर बाहिर गएर पत्रकार सम्मेलन बहिस्कार गरेको भए कुरै अर्कै हुन्थ्यो। उनीहरु त चुपचाप बसिरहेछन्। यसैको निरन्तरतास्वरुप अर्की हिरोइनले पनि पत्रकारलाई थर्काउन खोजेको हुनसक्छ। तर यस पटक भने उल्टै निशाले माफी माग्नु पर्यो।
भिडियो हेर्नुस्-
माफी माग्दामाग्दै निशाले एउटा गम्भीर आरोप पनि लगाइन्। माफी माग्ने र स्पष्टिकरण दिने क्रममा यसो एकअर्कासित ठोक्किएको विषयलाई उनले ‘मेल पत्रकारले फिमेल आर्टिस्टलाई टच गर्न पाइन्छ?’ भनिन्। यो आरोप बारे अनुप भन्छन्- निशालाई मेरो एक औलाले पनि छोएको छैन। तर सोही स्टेजमा साहानाले पनि माफी माग्नु पर्छ भन्ने मैले आग्रह गर्दा निशाले मेल पत्रकार भएर फिमेल आर्टिष्टलाई छुन खोज्यो हात हाल्यो भन्दै कार्यक्रममा आफ्नो तुच्छ प्रबृति देखाइन्। निशालाई मेरा हातहरूले कही पनि छोएको थिएन। निशाले सबै टेलिभिजनको क्यामेरा अगाडि मलाई छोयो भनी गिरेर म माथि आरोप लगाइन्, यो शत प्रतिशत गलत थियो।’ कार्यक्रममा सहभागी अरु पत्रकार पनि छोएको आरोप सही नभएको बताउँछन्। ‘सार्वजनिक रुपमा हिरोसँग हग गर्दा केही नहुने, भीडभाडमा संयोगवश छुँदा आरोप लगाउने?’, उनी भन्दै थिए।
मिडियालाई युज पो गर्ने त
सेलिब्रिटी भएपछि उनीहरुलाई मिडियाको आवश्यकता हुन्छ। मिडियालाई युज गर्न जान्नुपर्छ। सेलिब्रिटी भएपछी सार्वजनिक जीवन हुन्न विदेशतिर। तर नेपालमा त्यो हदसम्मको स्थिति छैन। हिरोइनलाई बाटोमा हिँड्दाहिँड्दै, कफी खाँदाखाँदै, रेस्टुरेन्टमा खाँदाखाँदै, कोहीसँग हिँड्दाहिँड्दै कसैले फोटो खिचेर उसको निजी जीवनमा हस्तक्षेप गरेको भए त्यो पक्कै आपत्तिजनक हुन्थ्यो। तर यहाँ प्राइभेट हैन पब्लिक क्षणको फोटो खिचिएको छ। शालिन तवरले ‘भो, अब नखिच्नुस्’ सम्म भन्नु ठीकै हो। फोटोग्राफरले पनि फ्ल्यास आउने गरी छिनछिनमा फोटो खिचेर राम्रोसँग बस्नै नदिने गरी डिस्टर्ब गर्न हुन्न। तर यहाँ यो दुई वटै कुरा भएको देखिन्न। भनेपछि पुरानो रिसै हुनुपर्छ। तर यस्तो रिस देखाउने काम क्यामेरा खोस्ने, मिडिया बन्द गरिदिन्छु भनी धम्की दिएर गर्नु मूर्खता बाहेक केही हुन्न। न्युयोर्क फिल्म अकादमीमा ट्रेनिङ लिएकी निशाले बुझेकै होलान् हलिउड र बलिउडमा सेलिब्रिटीका गसिपहरु। गलत कुरा आए त्यसको खण्डन गर्नु ठीक हो। रिस यसरी सार्वजनिक कार्यक्रममा फेर्दा घाटा उनैलाई हुन्छ। निशा अधिकारी र सहाना बज्राचार्यले भविष्यका लागि यो घटनाले राम्रै पाठ सिके होलान्। रेखा थापाले पनि सिक्नुपर्थ्यो तर उनी चुकेकी छिन्।
यो पनि हेर्नुस्-
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind