कालिमाटीमा भीषण आगलागी, एकै परिवारका चार सहित ६ जनाको मृत्यु ।।


काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल थोकबजारमा गएराति लागेको आगोमा जलेर एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको छ । आगोमा जलेर सुरक्षागार्ड दाङ हलवार गाविसका ५२ बर्षीय हिराबहादुर पुन, उहाँका छोरीहरु १६ बर्षीया शान्ति र १४ बर्षीया मिरा तथा ११ बर्षीय छोरा निराजनको मृत्यु भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डकी सदस्य शान्ता ढुंगानाले जानकारी दिनुभयो । मृत्यु भएका अन्य दुई जनाको भने सनाखत भएको छैन । आगोमा जलेर हिराकी श्रीमती गीता घाइते हुनु भएकोछ । उहाँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीमा करिब १० करोड मुल्य बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । दर्ता भएका ३ सय १ पसल र विना दर्ताका ६० पसल जलेर पूर्णरुपमा नष्ट भएका छन् । घटनास्थलमा सुरक्षाकर्मी र सन्चारकर्मीलाई मात्र प्रवेश दिइएको छ । क्षतिको विवरण संकलन भइरहेको महानगरीय प्रहरी प्रभाग कालीमाटीले जनाएको छ । गएराति १० बजेदेखि एक्कासी सुरु भएको आगो आज विहान ५ बजेमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । काठमाडौं, ललितपुर, भक्तपुरबाट आएको दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । काठमाडौं उपत्यकाको प्रमुख तरकारी भण्डारमा आगो लागेपछि राजधानीमा तरकारीको अभाव हुने देखिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind