नाचगानका साथ निकै सौहार्दपूर्वक होली
जसरि हुन्छ आफुलाई सन्तुस्टी दिलाउने हो ! चाहे पढेर होस् वा व्यवहारमा लागु गरेर होस् ! त्यसैले मैले चै तपाइलाई आनन्द दिन पढ्ने मध्यमबाट साप्ताहिकबाट विदुर जीले लेख्नु भएको यो लेखलाई राखेको छु पढ्ने हैन त?
जोगिरा सररर....
'चार गिलाससम्म पिउँदा नि घोट्टाले केही भएन, डुब्लिकेट रहेछ भन्दै फुर्ती दिएर हिँडेको त पिएको पाँच घन्टापछि डेढ दिन थलै पार्यो नि। अबलाई कान समाइयो,' पत्रकार दीपक भट्टराईले आफ्नो ब्लग काली टाइम्सडटकममा लेखेका छन्- 'गुरुकुलमा बसेर घोट्टा पिइयो। बाग्मती हो कि टुकुचे किनारबाट गाँजाको पात र मुन्टा सोहरेर ल्याएछन् कलाकार साथीहरूले।
मिक्स्चरमा हालेर मस्त लेदो बनाएछन्, दूधमा चिनी र गाँजाको पेस्ट पकाएका रहेछन्, गुलियो भएपछि बाहुनलाई के चाहियो ? भाङ खाँदा लाग्ने रहनेछ भन्दै गफ दिँदै बसेको। अस्ति रातिदेखि लाग्न थालेको हिजो दिनभर घरमै सुतेर बित्यो। घरी अरूले कति ठूलो स्वरमा बोलेका होलान् जस्तो लाग्ने घरी किन यस्तो सुस्तरी बोलेका होलान् जस्तो। छिनमै भएको कुरा दुई दिन पहिले कुरा गर्याजस्तो लाग्ने।'
'होली खेल्न रानीवनस्थित तपोवन पुगियो। नाचगानका साथ निकै सौहार्दपूर्वक होली खेलिरहेका थियौं। 'घोट्टा' तयार भएपछि पिउन आग्रह गरियो। दूधमा चिनी र भाङ मिसाएर बनाइएको घोट्टा पिउन त साह्रै मीठो थियो। त्यसैले तीन गिलास घटघटी पिएँ। आधा घन्टा जतिपछि रिंगटा लागेजस्तो भयो।' नायक सुनिल रावलले घोट्टा अनुभव सुनाए- 'विस्तारै होस हराएको हो कि जस्तो लाग्न थाल्यो। भाङको असरले हो भन्ने लागेर घर र्फकन मन लाग्यो। रिसोर्टबाट जेनतेन निस्किएँ। म बाइक लिएर गएको थिएँ। सिटमा बसे र साँचो घुसारे। मलाई त बाइक नै चलाउन नआएजस्तो भयो। गियर र क्लचमा कन्फ्युज हुन थालें। पछि परिवारका सदस्य आएर घर पुर्याउनुभयो।'
बर्सेनि मारवाडी सेवा समितिले टुँडिखेलमा होली महोत्सव नै आयोजित गर्छ, मिलनको यो चाडमा घोट्टा नहुने त कुरै भएन्, घोट्टाले अर्कै किसिमको नशा लाग्छ भन्ने थाहा पाएका व्यवसायी एवं शिक्षासेवी पंकज जालान बर्सेनि थोरै मात्रामा भए पनि घोट्टाको स्वादमा रमाउने बताउँछन्। 'गत वर्ष आफ्नै कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा होलीको दिन कार्यक्रम राखेका थियौं घोट्टा पनि तयार थियो,' जालानले सम्झिए- 'मैले थोरै पिउने भन्दा भन्दै साथीहरूले धेरै पिलाएछन्, त्यसपछि भाङ काट्न नुहाएको त झन मज्जाले ट्रीप दियो, त्यसमाथि अत्यधिक अबिरको प्रयोगले नशा बढाउन उत्प्रेरकको काम गर्यो, ओछ्यानमा सुतेको हावामा उडेजस्तो भयो। आफ्नै घरमा हुँदा पनि नयाँ ठाउँमा पुगेजस्तो लाग्न थाल्यो, भोलिपल्ट बल्ल होस आयो।
भाङको लड्डु र घोट्टाले राम्रैसँग मताउँछ, भाङको मताइ अरूभन्दा भिन्न र गजबको हुन्छ भन्ने थाहा पाएकाहरू पनि फागुपुणिर्मा अर्थात् होलीको दिन भाङको संसारमा हराउने पर्खाइमा हुन्छन्। रंग र पानीको यो तिहारमा भाङको उपस्थिति अर्थपूर्ण रहन्छ। होलीको दिन पनि भाङ नखाए कसरी मज्जा हुन्छ भन्नेहरू पनि थुप्रै छन्। यहाँनेर फागुपूणिर्मा र भाङ परिपूरकका रूपमा देखिन्छन्।
भाङका नकारात्मक पक्षहरूका बारेमा हामी पछाडि कुरा गरौंला, तर कुराको प्रारम्भ भने भाङ महात्म्यबाटै सुरु गरौं। भाङ र गाँजा एउटै प्रजातीका वनस्पतिबाट उत्पादन हुन्छन्। हिन्दू धर्मशास्त्रअनुसार भाङले होलीसँग सम्बन्ध राख्छ भने गाँजाले शिवरात्रीसँग। उत्सवसँग जोडिएको होलीमा भने गुलियो मीठो स्वादको हुने भएकाले भाङ खान पुरुषहरू मात्र होइन, महिलाहरू पनि उत्तिकै उत्साहित हुन्छन्। 'भाङको लड्डु र घोट्टा खाएपछि मानिस अर्कै संसारमा पुग्छ, यो मताइ नितान्त भिन्न हुन्छ, हाँसेको मान्छे हास्नमै उद्यत् हुन्छन् भने बोल्नेहरू बोलिरहन्छन्, छिनमै त्यो व्यक्ति लगातार रुन पनि सक्छ,' संस्कृतिविद् सत्यमोहन जोशीले भने- 'भाङको नशा बिस्तारै लामो समयसम्म लागिरहन्छ, अनि जति खायो त्यति नै लाग्छ।'
भाङको संसारमा अहिलेको युवा पुस्ता पनि उत्तिकै लगाव राख्छ। भाङ भन्नेबित्तिकै एक प्रकारको तरंग नै आउँछ, नयाँ पुस्ताका गायक बादल प्रसाईं भन्छन्- दुई-चार वर्षअघिको कुरा शंखमूलमा बस्दा हामी युवाहरू एउटा चियापसलमा घोट्टा बनाएर कसले धेरै पिउने भनेर अघोषित प्रतिस्पर्धा नै गरेका थियौं। अहिलेको पुस्ता यसरी नै टोलटोलमा बसेर भाङको स्वाद लिन रुचाउँछ।
उदाहरणमा भनिएझैं गुरुकुल, तपोवन र टुँडिखेलमा मात्र होइन, थुप्रै स्थानमा आयोजना हुने होली जमघटमा भाङको लड्डु र घोट्टाले प्रमुख भूमिका खेल्छन्। पत्रकार दीपक भट्टराई, कलाकार सुनिल रावल र व्यवसायी पंकज जालान मात्र होइन, धेरैले यसलाई ग्रहण गरेर भिन्नै किसिमको अनुभव सँगालेका छन्। भाङको संसारमा प्रवेश गरिसकेपछि वास्तविक जीवनबाट धेरै पर पुगिने भएकाले पनि हुनसक्छ, भाङ खानु नराम्रो भन्नेहरू पनि त्यो दिन थोरै भए पनि नखाइरहन सक्दैनन्। यसको अर्थसबैलाई भाङ खान उत्साहित गर्नु होइन, तर नखाने भनिए पनि खाने संस्कार अद्यावधि रहेकाले भाङले फागुमा सधैं अर्थ राख्छ। गुरुकुलले आफ्नो स्थापनायताका प्रत्येक होलीमा भाङको घोट्टालाई प्रसादका रूपमा वितरण गर्दै आएको रंगकर्मी सुनिल पोखरेलले बताए। संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार भाङका केही फाइदा अवश्य छन्, तर त्यसले निम्त्याउन सक्ने दुर्घटनातर्फ पनि सबै उत्तिकै सचेत हुनुपर्छ।
गायक सुगम पोखरेल विराटनगरमा कक्षा १० मा पढ्दा ताकाको घोट्टा पिएको अनुभव अविस्मरणीय भएको बताउँछन्। उनले धतुरो मिश्रति घोट्टा यति पिएछन कि दुई दिनसम्म त लगातार अचेत रहे। त्यसपछिका ७ दिनसम्म त्यो भाङको नसाले गर्दा कुनै काम गर्न नसकेको, पढ्न नसकेको उनको अनुभव छ। तराईका सबै स्थानदेखि मिथिलाञ्चल भनेर चिनिएको जनकपुर क्षेत्रमा घोट्टा खाने चलन परापूर्वकालदेखि नै छ। देशैभरि छरिएको मारवाडी समुदायले त मारवाडी सेवा समितिमार्फत होली मिलन कार्यक्रम आयोजना गरेर घोट्टा उत्सव नै चलाउँदै आएको छ। साहित्यकार धीरेन्द्र प्रेमर्षीका अनुसार उनका बुबाको कडा अनुशासनमा रहेको घरमा पनि होलीको दिनमा भने घरमै घोट्टा तयार हुन्थ्यो, जसको प्रयोग गर्न महिलादेखि बालबालिकासम्म सबैले पाउँथे। मैथिली समाजमा घोट्टाको प्रयोग आदिम युगदेखि नै हुँदै आएको हुनसक्ने प्रेमषिर्ले बताए।
चर्चित भारतीय साहित्यकार राहुल साङकृत्यानले भनेका छन्, सभ्यताको प्रारम्भिक दिनहरूमा आर्यहरू भाङलाई सोमरसका रूपमा प्रयोग गर्थे। सोमरसका विषयमा अन्य मान्यता पनि छन्, तर मादकतामा रमाउन चाहने आर्य सम्प्रदायभित्र भने वनस्पति भाङको मादकता आदिम कालदेखि नै थियो। रक्सीजन्य पदार्थ नरुचाउनेहरूका लागि मादकता दिने गाँजा भाङ स्वाभाविक रुपमा पहिलो रोजाइमा पर्न सक्थे।
'गाँजा, भाङ तथा धतुरोले हाम्रो आध्यात्मिक दर्शनमा महत्त्वपूर्ण स्थान राखेका छन्। अहिलेको विज्ञानले यसको प्रयोग गलत भने पनि ५० वर्ष अघिसम्म पनि गाँजा, भाङ खानु नराम्रो मानिदैनथ्यो,' संस्कृतिविद् जोशी भन्छन्- 'हिन्दू धर्मका सबैभन्दा श्रेष्ठ भगवान् शिव मानिन्छन्, तिनै शिवको प्रिय वस्तु भाङ, गाँजा र धतुरो हुन्, शिवलाई मान्ने हो भने त यी कुरा प्रयोग गर्नु सामान्य नै हो नि।'
नेपाली परिवेशमा होलीको दिन गाँजा, भाङको प्रयोग रमाइलोका निम्ति हुने ग्लामर फोटोग्राफर अभिनव कसजू बताउँछन्। त्यो दिनलाई पूर्ण मनोरञ्जक बनाउन रंग लगाउने, मीठो-मीठो खाने, नाच्ने क्रममै घोट्टा पिएर मदहोस हुने ट्रेन्ड बसेको कसजूले बताए। कसजूका अनुसार खासगरी सहरमा व्यस्त जीवनयापन गरिरहेकाहरू सबै धर्म र संस्कृतिमा रमाउन थालेको अहिले सामाजिक अवस्थामा होलीको दिन त विशिष्ट किसिमको आनन्दको खोजी गरिन्छ।' अनुहार नै नचिनिने गरी रंग पोतिएको शरीरका साथमा उत्सवको खुसीयाली मनाउन भिन्न-भिन्न स्थानमा सानो-ठूलो जक्सन बनाएर बसेकाहरू लड्डु र घोट्टामा रमाइरहेका हुन्छन्। अहिलेको पुस्ताका निम्ति ग्लामर बनेको भाङलाई मिठाई पसल देखि रेस्टुराँसम्मले रेसिपीका रूपमा राख्न थालेका छन्। त्यसो त सहरमा भाङका अतिरिक्त रक्सी सेवन पनि उत्तिकै हुने गरेको छ।
गाँजा नेपाली परिवेशको पुरानो धूम्रपान मानिन्छ, तर भाङ भने वृन्दावनबाट आएको संस्कृतिविद् जोशीले बताए। कृष्ण भक्त वैष्णविज्मसँगै परमात्मामा लीन हुन चाहनेहरूबाटै घोट्टा पिउने चलनको सुरुवात भएको हुनसक्ने जोशीको कथन छ। हिन्दी शब्द रइसलाई सापटी लिँदा घोट्टा रइसहरूको खाद्यसामग्री भएको जोशीले बताए। घोट्टामा पकाएको दूधका अतिरिक्त काजु, पेस्ता, बदाम, सुकमेल, ल्वाङ आदि मसला पिसेर तयार पारिएको शुद्ध भाङ हालिन्छ। त्यसपछि त्यसलाई घोटिन्छ। अनि तयार हुन्छ मादक घोट्टा।
पर्वहरूले समयअनुसार आफ्नै किसिमका अर्थ राख्छन्। विज्ञहरूका अनुसार जाडोलाई बिदा गर्ने क्रममा काठमाडौंवासीले घिउ-चाकु खाएजस्तै, थारुहरूले माघि पर्व मनाउने चलन थियो। यस्तै भारतको उत्तरप्रदेश, वृन्दावन क्षेत्रमा रंगहरूको पर्व होली मनाइन्थ्यो। यही सिलसिलामा रोगव्याधि हटाउने तथा शरीरलाई गर्मी गराउने हेतु भाङको घोट्टा खाइएको हो।
भाङले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ
भाङलाई रोगनाशक तथा पीडानाशक भनेर सेवन गरिन्छ, तर वैज्ञानिक अनुसन्धानले भने भाङले पीडा केही कम गरे पनि रोग प्रतिरोधात्मक क्षमता ह्रास गर्ने देखाएको छ। अध्येताहरूका अनुसार यसले बिस्तारै-बिस्तारै रोग विरुद्ध लड्ने शक्तिलाई कमजोर तुल्याउँछ। अत्यधिक भाङ सेवनले थुप्रै किसिमका संक्रमण निम्त्याउने, जुन पछि गएर क्यान्सर जोखिम बढाउन सक्नेसम्म हुन्छ। भाङको बिरुवामा टिएचएस (टेट्राहाइड्रो क्यानाबिनोल) डेल्टा हुन्छ। टिएचएसलाई पीडा कम गर्न थुप्रै औषधीमा प्रयोग गरिन्छ। त्यसैले पेनकिलरका रूपमा भाङलाई विश्वस्तरमै औषधीका रूपमा उपयोग गरिन्छ। भाङले पीडा कम गर्छ युनिभर्सिटी अफ साउथ क्यारोलिनाका अनुसार तर यसले रोग प्रतिरोधक क्षमता एकदमै कमजोर बनाउँछ। यो नशाले शरिरमा थुप्रै किसिमका साइड इफेक्ट हुन्छ। क्यान्सर लाग्ने खतरा पनि उत्तिकै हुन्छ। अनुसन्धानअनुसार थुप्रै प्रतिरोधक कोशिका संक्रमण र क्यान्सरबाट बचाउने किसिमका छन् तर शरीरमै रहेको एमडिएससी कोशिकाले भने शरिरको इम्युन सिस्टमलाई हानि पुर्याउँछ। भाङले एमडिएससी कोशिकालाई सक्रिय गराउँछ। त्यसैले भाङ खानेहरूमा क्यान्सर हटाउन उपयोग गरिने थेरापी समेत बेकामे हुन्छ। कुनैबेला एमडिएससी कोशिकाले क्यान्सर रोगीलाई निको हुन सहयोग गर्छ भनिन्थ्यो, तर अनुसन्धानमा त्यसले ठीक विपरीत कार्य गर्छ भन्ने पत्ता लाग्यो।
डा. बालकृष्ण शाहका अनुसार अत्यधिक मात्रामा गाँजा भाङ सेवन गरेको अवस्थामा धेरै भोक-तिर्खा लाग्ने, वाकवाकी लाग्ने, टाउको भारी हुने, चक्कर लाग्ने, हातखुट्टा काम्ने, मुख सुक्खा हुने, मुटुको धड्कन बढ्ने, बारम्बार पिसाब लागिरहने, आफूलाई चलाख र स्वतन्त्र अनि सबै कुराको ज्ञाता महसुस हुन्छ। कसै-कसैलाई निद्रा नलाग्ने, हासिलो देखिने तथा हाँसिरहने, विभिन्न किसिमको सोच-विचार आउने, नभएको कुरा देख्ने, नबोलेको सुन्ने, धेरै बोल्ने आदि हुन सक्छ। फागुपर्वमा गाँजा, भाङसागै अरू कडा अनि चाँडै लाग्ने वा मताउने धतुरोको प्रयोग तीव्र रूपमा हुन थालेको पाइन्छ। हाम्रो देशमा सेतो वा बैजनी रङ्गको फूल भएको दुई थरीको धतुरो पाइन्छन्। यी दुवै थरीका फूल र बियाँ नसालु तथा विषालु हुन्छन्। यसका बियाँमा हायोसाइन, हायोसायमाइन र केही मात्रामा स्टरोपिन नामक रसायन हुन्छन्। यी रसायनले सीधै केन्द्रीय स्नायु प्रणँलीमा असर गर्छन्। सुरुमा त्यसले मस्तिष्कलाई उत्तेजित गर्छ अनि र अन्तमा प्यारालाइसिससम्म गराउन सक्छ। यस्ता पदार्थ सेवन गरे मुख तथा घाँटी सुक्ने, स्वर सुक्ने, पेट पोल्ने, वार्ता हुने, आफन्त तथा साथीभाइलाई नचिन्ने, आँखाको नानी ठूलो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, मुटुको धड्कन १ सय २० प्रतिमिनेटभन्दा बढी हुने, शरिरको तापक्रम बढ्ने आदि हुन्छ। अत्यधिक मात्रामा धतुरोको बियाँ सेवन गरेको एक दुई घन्टाभित्रै मानिस बेहोस हुने, कोमामा जाने तथा मृत्युसमेत हुन सक्छ। शून्य दशमलव ६ देखि १ ग्राम धतुरोको बियाँ मानिसको मृत्युका लागि पर्याप्त हुन्छ। थोरै मात्रामा भाङ सेवन गरेको अवस्थामा पनि आफूलाई रमाइलोभन्दा पनि गाह्रो हुन थालेपछि पानी बढी पिउनुका साथै (ग्लुकोज पानी पिउने) तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकको सिफारिसअनुसार औषधी सेवन गर्नुपर्छ। अत्यधिक मात्रामा नशा सेवन गरेको व्यक्तिलाई अस्पतालमा भर्ना गर्नुपर्छ। यस्ता बिरामीहरूमा मानसिक एवं दीर्घकालीन असरसमेत देखा पर्नसक्छ।
गाँजा, भाङ उपचार पनि
आर्युवेदिक चिकित्सक डा. बीपी तिम्सिनाका अनुसार गाँजा भाङ कतिपय रोगका अचुक औषधी हुन्। नेपालमा गाँजाखेती प्रतिबन्धित गरिए पनि भारतलगायत कतिपय राष्ट्रमा निश्चित क्षेत्र तोकी अनुगमनमा गाँजा खेती हुने गरेको छ, जुन गाँजा औषधी निर्माणमा प्रयोग गरिन्छ। संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार निन्द्रा नलाग्ने रोगमा गाँजा, भाङले गजबको काम गर्छ। त्यस्तै पेटसम्बन्धी रोगमा पनि गाँजा उत्तिकै लाभदायी मानिन्छ तर जसरी रक्सीको न्यून मात्रा औषधी हुन्छ भनिन्छ त्यसरी नै गाँजाको पनि निश्चित मात्रा मात्र औषधी हुने हो, अन्यथा गाँजा-भाङको नियमित सेवन खतरनाक हुन्छ।
पशुपतिमा गाँजा, मिथिलाञ्चलमा भाङ
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार परापूर्वकालदेखि नै काठमाडौंका विभिन्न मठमन्दिर खासगरी पशुपतीक्षेत्रमा गाँजा सेवन सामान्य मानिन्थ्यो। भजन-कीर्तनका लागि जानुपूर्व अनिवार्य गाँजा सेवन गर्नुपर्ने चलन पनि थियो। गाँजाको ट्रेन्ड कतिसम्म थियो भने नेपाल विश्वभर गाँजाका निम्ति चिनिन्थ्यो। ७० को दशकसम्म पनि हिप्पीहरू नेपालमा गाँजा खानकै लागि आउने गरेको इतिहास पनि छ। शिवरात्रीताका पशुपतिमा आउने नागा बाबाहरूका लागि उच्च गुणस्तरको गाँजा साधु वर्गीकरण गरी ४ तोलासम्म उपलब्ध गराउने ट्रेन्ड थियो। गाँजा प्रतिबन्ध भएपछि अहिले पशुपति विकास कोषले साधुहरूलाई उक्त सुविधा उपलब्ध नगराए पनि पशुपति आसपासमा अहिले प्रारम्भ भएको संस्कृतिविद् जोशीले बताए। तत्कालीन अवस्थामा सुवेदारदेखि माथिका कर्मचारी राजदरबार वा सिंहदरबारमा आयोजना हुने होली कार्यक्रममा एकदिन अनिवार्य सरिक हुनुपथ्र्यो। यद्यपि उक्त होलीमा भाङको सेवन अनिवार्य थिएन।
अब कुरा मिथिलाञ्चलको, साहित्यकार धीरेन्द्र प्रेमषिर्का अनुसार मिथिला क्षेत्रमा मध्यमवर्गीय शिक्षित परिवारभन्दा माथि चुरोट, बिंडी र गाँजा खानु अशोभनीय मानिन्थ्यो। मिथिलाञ्चलका सचेत वर्ग भाङ भने खान्थे। भाङलाई स्वादिष्ट परिकारमा मिसाएर सेवन गर्ने ट्रेन्ड त्यहाँ बलियोसँग बसेको छ। भाङ फागुपूणिर्मामा त खाइन्छ नै, त्यसबाहेक अरू समयमा पनि भाङ खानु नराम्रो मानिँदैन। फागुपूणिर्माको दिन बालबालिकादेखि महिलासम्मले भाङ खाने गरेको प्रेमषिर्ले बताए। जनकपुरमा गाँजा खानेहरूप्रति घृणँ गरिन्छ, गजडी भनेर अपहेलनासम्म गरिन्छ। भोलेबाबाका असीम भक्त मिथिलावासीहरू भाङलाई भगवान् शिवको प्रसादका रूपमा लिन्छन्। होलीलाई भव्य मान्ने मिथिला क्षेत्रका जनता उत्सवमै मट्का फुटाउनेदेखि महामूर्ख सम्मेलन पनि आयोजना गर्दै आएका छन्। मिथिला क्षेत्रबाट काठमाडौं आएकाहरू अहिले विभिन्न पान पसलमा भाङको पात किनेर समूहगत वा घरमै पनि घोट्टा बनाएर खान्छन्।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind