सेना समायोजन विशेष समितिको बैठक बस्दै, ३ दलको बैठक जारी ।।
माओवादी लडाकुको रेखदेख तथा पुनस्थापनासम्बन्धी सेना समायोजन विशेष समितिको बैठक अहिले केहीबेरमा शुरु हुँदैछ । दर्जा मिलान र सैनिक नियमावलीमा कुरा नमिलेपछि पछिल्ला केही बैठक निष्कर्षविहीन भएको थियो र आजको बैठकमा प्राविधिक विवादमा सहमतिका लागि प्रयास गरिने नेताहरूले बताएका छन् । सैनिक नियमावली अनुसार नै समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने नेपाली काङ्ग्रेस र नेकपा एमालेको अडानमा माओवादीले असहमति जनाएपछि यसअघि आइतबार बसेको बैठक विना निस्कर्ष टुङ्गिएको थियो ।
यसैबीच विशेष समितिको बैठक अघि अहिले मुख्य दलका नेताहरु छलफलमा जुटेका छन् । अहिले सिंहदरबारमा जारी बैठकमा सेना समायोजनका विषयमा नमिलेका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । दलहरूबीच दर्जा निर्धारणपछि पनि तालिमअघि अवकाश रोज्न दिने, छनौट तालिम र नियुक्तिको प्रक्रियामा जाने, छनौट गर्दा गम्भीर मानअधिकार हनन् गर्नेलाई समायोजन नगर्नेलगायतका विषयमा सहमति भइसकेको छ भने माओवादीको दर्जा सिफारिशलाई आधार मान्ने, छनौट समितिमा माओवादीको प्रतिनिधित्व राख्ने नराख्ने, लडाकुको तालिम नयाँ भर्नाभन्दा छोट्याउने कि नछोट्याउने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ । यही चैत ३० गतेभित्रमा समायोजनको प्रक्रिया टुङ्ग्याइने नेताहरूले सहमति गरिसकेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind