शीर्ष नेताहरुको गोप्य बैठक आज बस्दै ।।

संविधानका विवादित बुँदा र राष्ट्रिय सहमतिको सरकार गठनको बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज गोप्य बैठक हुने भएको छ । अपरान्ह बस्ने बैठकमा एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सहभागी हुनेछन् ।  माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने बिषयमा दलहरुबीच हिजो सहमति भएपछि संविधान निर्माणमा केन्द्रीत हुने र भावी संविधानका विवादित बुँदामा सहमति गर्ने बारेमा गोप्य बैठकमा छलफल हुनेछ । भावी संविधानका विवादित बुँदामा सहमति गर्न दिइएको समयावधि सकिन २ दिन बाँकी छँदा दलहरु संविधानको बिषयमा मात्र छलफल गर्न बैठक बस्न लागेका हुन् । पछिल्लो पटक बसेको संविधानसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले यही ५ गतेसम्ममा भावी संविधानका विवादका बुँदामा सहमति गर्न दलहरुलाई समय दिएको थियो । एमाले नेता भीम रावलले लडाकु समायोजनबारे सहमति भएकोले अब संविधान निर्माणमा ध्यान केन्द्रीत गर्ने प्रयासस्वरुप आज गोप्य बैठक बस्न लागेको जानकारी दिनुभयो । हिजो बसेको लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकमा महानिर्देशनालयको गठन, दर्जा, छनौट समिति, मादण्डको विषयमा दलहरुबीच सहमति भएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind