अन्नपूर्ण हिमश्रृंखला हिमपहिरो, १३ को मृत्यु (भिडियो)

३ वैशाख, पोखरा । कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो गएको छ । हिम पहिरोपछि सेती नदीमा आएको बाढीमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको छ ।

केहिबेर अघि घटनास्थल पुगेर फर्किएका पत्रकार त्रिभुवन पौडेलका अनुसार खारापानी बजार पुरै बगाएको छ । त्यहाँ करिव ३० मिटर लेदो माटो थुपि्रएको छ । बस्तीको कुनै नाम निसाना छैन भने त्यहाँ बस्दै आएकाहरु बेपत्ता छन् । टिकट काटेर तातोपानीमा डुब्न गएका करिव ३० जना हराएको अनुमान गरिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी, पश्चिम क्षेत्रीय पृतनापति तथा सशस्त्र र जनपथ प्रहरीका डीआईजीसहितको टोलीले अपराहृन हेलिकोप्टरमार्फत खारापानीसहित सेती नदी आसपासका बस्तीहरुको निरीक्षण गरेको थियो । सोही टोलीमा रहेका पत्रकार पौडेलका अनुसार नदी किनारमा कहीँ पनि बस्ती र त्यसका अबशेष देखिएन । नदी किनारमा कुन-कुन बस्ती थिए र कति मानिसको बसोबास गर्थे भन्ने टोलीले यकिन गर्न सकेन । पुरिएको खारापानी बजारमा थुपि्रएको लेदोमाटो फाल्न स्काभेटर लैजान तयारी भइरहेको प्रहरीले जनाएको छ । सबै स्थिति हेर्दा ५० भन्दा बढी मानिस बेपत्ता भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
टोलीले अन्नपूर्ण हिमश्रृंखला क्षेत्रमा कुनै ताल फुटेको नपाएपछि हिमपहिरो नै गएर नै नदीमा बाढी आएको ठहर गरेको छ । यसबारे थप जानकारी दिन टोलीले पत्रकार सम्मेलन गर्दैछ ।
पहिरोमा परि बगाएका तीन जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । जीवितै उद्धार गरिएकाहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ हिमपहिरोले चारवटा ट्रक समेत वगाएको छ भने स्याङ्जावाट बनभोजका लागि आएको बसपनि वाढीले वगाएको प्रहरीले जनाएको छ । बसमा रहेका केही पुलमा भेटिएको बताइएको छ ।
सेती नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रम अहिले पनि जारी छ । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियवासीहरुको पहलमा उद्दार कार्य जारी छ । नेपाली सेनाको लन्चरसहितको २ र मुक्ति एयरलाइन्सको हेलिकोप्टर उद्धारमा जुटेको छ । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार सेनाको टोली उद्धार कार्यमा जुटेको छ ।
बाढी आउँदैछ भन्ने कसरी थाहा भयो ?
सेती नदीमा बाढी नआउँदै पोखराका बासिन्दाल लौ बाढी आउँदैछ भनेर अत्तालिए । यता र उता भागदौड र हारगुहार गरे । सबै चनाखो बने । नदी आसपासमा रहेका बासिन्दा सुरक्षित ठाउँतिर दौडिए । आखिर सेतीमा बाढी आउँदैछ भन्नेे कुरा कसरी थाहा भयो होला त ?
पोखरा विमानस्थल कार्यालयका बरिष्ठ अधिकृत अनुप जोशीका अनुसार पोखरातर्फ आउँदै गरेको जहाजले माछापुच्छ्रे हिमालको फेदीबाट हिमनदी बगेको र त्यो सेती नदीमा बाढीको रुपमा अघि बढ्दै गरेको खबर गरे । त्यसपछि विमानस्थल कार्यालयले सञ्चारमाध्यमलाई खबर गरेपछि मात्रै यसबारे अगि्रम जानकारी भएको हो । ठूलो आवाज र रुख तथा काठपात बगाउँदै बगेको बाढीमा पानी भन्दा बढी लेदो र माटो देखिएको छ

अस्थायी हिमताल फुटेको विज्ञ अनुमान


सेती नदीमा अप्रत्याशित बाढी आउनुको ठ्याक्कै कारण यो भनेर यथार्थ जानकारी नआएपनि हिमताल फुटेर या हिमपहिरो आएर कारण यस्तो भएको अनुमान गरिएको छ ।
विज्ञहरुका अनुसार माछापुच्छ्रे् र अन्नपूर्ण हिमश्रृँखला आसपासमा एउटा मात्र हिमताल छ । ‘तर यो हिमताल फुटेको देखिँदैन, किनकी त्यहाँ रहेको हिमताल सेती नदीको मुहान आसपासमा पर्दैन’ जल तथा मौसम विभागका उपमहानिर्देशक तथा मौसम पुर्वानुमान महाशाखाका प्रमुख मणिरत्न शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सेती नदीमा अप्रत्याशित बाढी आउनुको मुख्य दुई कारण हुन सक्छन् । पहिलो त्यहाँ वर्षा र हिमपातका कारण पहिल्यै अस्थायी प्रकारको ताल या पोखरी हुनुपर्छ । यही बेला माथिबाट आएको हिमपहिरोले त्यो ताल फुटेर बाढी आएको हुनुपर्छ । अर्को कारण भनेको अहिले गर्मी मौसममा हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा असिना पानी र तराईमा भारी वर्षा हुने सिजन हो । ‘भारी हिमपातका कारण पानी पग्लेर अस्थायी ताल एकैपटक बगेर पनि यस्तो हुन सक्छ’ शाक्यले जानकारी दिनुभयो । हिमतालको क्षेत्रमा काम गर्ने इसिमोडका विज्ञ प्रदिप मुलको अनुमान पनि यस्तै छ । ‘हिम पहिरोले अस्थायी हिमताल पुर्न जाँदा त्यहाँको पानी एकैपटक बगेर यस्तो अवस्था आएको हुन सक्छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार हिमपहिरो जुनसुकै बेला पनि जान सक्छ, तर यो सिजनमा हिमपहिरो जाने खतरा बढी हुन्छ ।
कति होलान् हिमताल ?
हिमाली क्षेत्रमा पानीको ताल धेरै भएको अनुमान छ । तर यति नै छ भन्ने आधिकारिक तथ्याँक कोहीसित पनि छैन । मौसम विभागका अनुसार झण्डै ३२ वटा ठूला हिमताल हुन सक्छन् । हिमतालको बारेमा अध्ययन गरेको इसिमोडले दुई दर्जनभन्दा बढी ठूला हिमताल रहेको अनुमान गरेको छ । हिमताल यही बेला फुट्छ भनेर अनुमान गर्न गाह्रो छ । हिमपहिरोका कारण हिमताल फुट्ने हुँदा जुनसुकै बेला खतरा हुन सक्ने विज्ञहरु बताउँछन् ।
नदीहरु सबै हिमालबाटै उत्पत्ति भएका हुन्छन् । हिमनदी बग्दा या हिमताल फुट्दा नदीमा पानीको बहाब बढ्नु स्वभाविक हो । यस्तो बेला नदी आसपासका बासिन्दाले हरबखत सतर्क रहनु आवश्यक छ ।

(भिडियो)



 



सबार : अनलाइन खबर 




,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind