जेठ १४ भित्र पहिचान भएको संघीयता सहितको संविधान जारी नगरे आन्दोलन गर्ने दश यूवा संगठनको चेतावनी



काठमाडौ, १३ जेठ । एकीकृत नेकपा माओवादीसहित विभिन्न राजनीतिक दल निकट यूवा संगठनहरुले जेठ १४ भित्रै पहिचान भएको संघीयता सहितको संविधान जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
वाईसीएल नेपाल, मधेसी यूवा फोरम नेपाल, मधेसी यूवा फोरम नेपाल लोकतान्त्रिक, तराई मधेस यूवा फ्रन्ट, मधेसी यूवा फोरम नेपाल गणतान्त्रिक, सदभावना यूवा मञ्च, यूवा क्यूनिष्ट संघ एकीकृत, नेपाल लोकतान्त्रिक यूवा फ्रन्ट, आदीबासी जनजाती यूवा महासंघ र थारु विद्यार्थी समाजले शनिवार संयूक्त पत्रकार सम्मेलनको आयोजना गरेको त्यस्तो चेतावनी दिएका हुन ।

तीन संगठनहरुले जारी गरेको विज्ञप्तिमा जेठ १४ भित्रै पहिचान भएको संघीयता सहितको संविधान जारी हुनु पर्ने, १४ वा १० प्रदेश कायम गरिनु पर्ने,  मुलुकलाई प्रतिगमनतिर उन्मुख गराएर संविधान जारी हुन नदिने तत्व विरुद्ध आन्दोलनकालागी तयार रहन सबैसँग आग्रह गरिएको छ ।
त्यसैगरी मधेसी, आदीबासी जनजातीका माग तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै संघीयता विरोधी तत्वका विरुद्ध सशक्त आन्दोलन गर्ने स्पष्ट पारिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै वाईसीएल अध्यक्ष गणेशमान पुनले संघीयता विरोधी तत्वलाई खवरदारी गर्दै संघीयता विरोधी षडयन्त्र नरोकीए जनतालाई साथमा लिएर भिषण आन्दोलनगर्ने चेतावनी दिए ।
उनले मुलुकमा प्राप्त उपलब्धिलाई गुमाएर २०४७ सालकै संविधान ब्यूताउने षडयन्त्र भईरहेको भन्दै त्यस विरुद्ध खवरदारी गर्न आग्रह गरे ।
मधेसी यूवा फोरम नेपालका अध्यक्ष योगेन्द्र रायले विभिन्न आन्दोलनको उपलब्धिको अपमान हुन लागेको भन्दै जेठ १४ भित्रै पहिचान कायम हुने गरी संघीयता सहितको संविधान जारी गर्न माग गरे । उनले पहिचान नदिई त्यसको नतिजा ठिक नहुने चेतावनी दिए ।
.....................................................................
मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति नेपाल बौद्धिक मञ्चको चिन्ता
काठमाडौ, १३ जेठ । नेपाल बौद्धिक मञ्चले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता ब्यक्त गरेको छ ।
मञ्चले शनिवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरेर चिन्ता ब्यक्त गरेको हो ।
कार्यक्रममा बोल्दै मन्चका डा ललन चौधरीले नेताहरुको गलत तरिकाले मुलुक विग्रएको भन्दै जातजातीको नाममा खुलेको कसले पनि राष्ट्रको मुक्तीलाई अवरुद्ध पारेको दावी गरे । उनले भने–सरकारमा पनि बस्ने, ककसपनि चलाउने र आन्दोलन पनि गर्ने यस्तो चालले केही हुने बाला छैन ।
उनले जनताका सूचनाका सम्बाहक निरिह पत्रकारलाई कुट्नेलाई ६०१ सभासद र नेताहरुलाई कुट्न आब्हान गरे ।
कार्यक्रममा कानून ब्यवसायी दिनेश त्रिपाठीले जेठ १४ भित्रै लोकतान्त्रिक संविधान जारी हुनु पर्ने भन्दै  संघीयता जातीय उत्थानको अस्त्र नभएको बताए ।
उनले विविध जात, धर्म र भाषा भएको मुलुकमा जातीय पहिचान सहितको संघीयता हुनै नसक्ने भन्दै जातीय एकाधिकार भए लोकतान्त्रिक मुल्य मान्यता ध्वस्त हुने चेतावनी दिए ।
उनले भने–जातीय अग्राधिकार हुनु हुँदैन । समानतामा आधारित संविधान जारी हुनु पर्छ ।
जेठ १४ भित्र संविधान जारी नभए नेताहरु फेलियर हुने चेतावनी दिदै संकटकाल लगाएर लोकतान्त्रिक संविधान जारी हुनै नसक्ने ठोकुवा गरे ।
राष्ट्रिय मुक्ती आन्दोलन नेपालका डा जवी साहले दलहरुले राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको महत्व नहुँदा दलहरु जिम्मेवार नहुँदा मुलुक संकटमा फसेको बताए ।
जेठ १४ मा संविधान जारी नभए अन्य पक्षले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने भन्दै चार जना नेताले ६०१ सभासदलाई निर्धो बनाएको दावी गरे ।
आदीबासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले जातीय पहिचानसहितको संघीयता हुनेभए पछि काग्रेस र एमाले संविधानसभा विघठन गर्न लागिपरेको दावी गरे ।
उनले जातीय पहिचानको विरोध गर्ने काग्रेस र एमाले आदीबासी जनजाती र मधेसी विहीन पार्टी भएर वडा स्तरीय पार्टी बन्ने चेतावनी दिए।
उनले आदीबासी जनजाती र मधेसीको भिन्दै पार्टी बनाउनु पर्ने भन्दै ठूला दललाई ब्राम्हण क्षेत्रीको पार्टीको संज्ञा दिए ।
रामचन्द्र हुमागाईले  विचारमा नभई जातीय गालिगलौच सुरु भएको प्रति चिन्ता ब्यक्त गर्दै अहिले मुलुकमा जातीय द्धन्द्ध फैलिए मुलुक फेरि अढाई सय वर्ष पछि फर्कने चेतावनी दिए ।उनले प्राप्त उपलब्धि नगुम्ने गरी सबैलाई समेट्ने खालको संविधान जारी गर्न पनि माग गरे ।
मन्चका संयोजक डा केबी रोकायले प्राप्त उपलब्धि गुम्ने अवस्था भएको भन्दै अब नेपालको जिम्मा नेपाली जनता आफैले लिनु पर्ने अवस्था आएको बताए । उनले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्नु पर्ने भन्दै अन्य तरिकाबाट जारी भएको सविधान मान्य नहुने चेतावनी दिए ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind