श्री पलान्चोक भगवती माई

लेखक : पलान्चोक भगवती माई
काठमाडौंबाट करिब ५६ किलोमिटर पूर्व काभ्रे जिल्लाको महाभारत पर्वत शृंखलामा पर्ने डाँडाको टुप्पामा प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर छ। उत्तर दक्षिण फैलिएको यो डाँडाको टुप्पाबाट पूर्वमा इन्द्रावती र सुनकोसी नदीको बहाव क्षेत्रका साथै अनगिन्ती डाँडाकाँडा देख्न सकिन्छ। दक्षिणतर्फ पाँचखालको हरिया फाँट र धुलिखेलको डाँडाका अतिरिक्त महाभारत पर्वत शृंखलामा पर्ने अनगिन्ती डाँडाकाँडाहरु देख्न सकिन्छ। 
पलाञ्चोक भगवतीको मन्दिरको मूल ढोका पश्चिमतर्फ फर्केको छ। प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिरमा रहेको भगवतीको प्रस्तर मूर्ति अहिले नै बोलिहाल्छ कि जस्तो देखिन्छ।

तीनवटा समीको वृक्षमुनि प्रतिष्ठित भगवतीको मूर्तिलाई तीन तले पेगोडा शैलीको छानायुक्त मन्दिरभित्र सजाएर अरु आकर्षक बनाइएको छ। मन्दिर वरिपरिको चोकलाई चित्ताकर्षक अष्टमातृकाको ससाना मूर्तिले सजाइएको छ। मल्ल राजाहरूले चढाएको भनी नेपाल भाषाको लिपीमा लेखिएका कथनयुक्त घन्टाहरूले त्यहाँ मल्लकालदेखि नै देवी पुज्ने गरिएको थियो भन्ने स्पष्ट हुन्छ।
यो नेपालकै सबैभन्दा राम्रो प्रस्तर मूर्ति मानिन्छ। चुपीघाट भक्तपुरको धाता भगवती, काठमाडौंको शोभा भगवती, भक्तपुर दरबार स्क्वायरको भैरव र महिषमर्दिनी भगवतीको मूर्ति र पलाञ्चोक भगवतीको मूर्ति एकै कलाकारका उत्कृष्ट मूर्ति मानिन्छ।
यी मूर्तिको कुँदाइसँग जोडिएको एउटा आख्यान यस्तो छ– यस मूर्तिका शिल्पी देवीका भक्त एवं तान्त्रिक दीक्षाले सुसंस्कृत थिए। यिनले कुँदेको भगवतीको मूर्ति पूरा हुनेबित्तिकै सो मूर्तिमा स्वतः शक्तिसञ्चार भयो। यो बु‰ने तान्त्रिकहरूले चुपीघाटको कुमारी पीठमा देवीको मूर्ति स्थापना गरे। मूर्ति साह्रै राम्रो मात्र थिएन, यसमा प्राणप्रतिष्ठासमेत आफैैं भई गएकाले देवीको पूजाअर्चना सिद्धिदायक रहेको प्रचार भयो। पीठ पूजाहरूमा यी देवीलाई सबैले जोड्न थाले। आजसम्म पनि भक्तपुरको तलेजुको पूजामा यी देवीलाई धाता भगवती भनेर पुज्ने गरिन्छ।
अति राम्रो मूर्ति कुँदेकै कारणले फेरि त्यस्ता मूर्ति कुँद्न नसकोस् भनेर ती कलाकारको हातका औंला काटिएको आख्यान प्रचलित छ। देवीका आराधक ती कलाकारले आफ्ना अंग गुमाएर पनि अझ राम्रो प्रस्तर मूर्ति कोर्न नछाडेको र काटिएका अंगको पीडासँगै काठमाडौंको शोभा भगवतीको र नक्सालको भगवतीको मूर्ति तथा भक्तपुर दरबार स्क्वायरस्थित भैरव र महिषमर्दिनी भगवतीको मूर्ति कोरेको मानिन्छ।


 यस श्री पलान्चोक भगवती माई को बारेमा थप जानकारी को लागि याँहा क्लिक गर्नुहोस् 

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind