मेलम्चीमा पानी प्रशोधनको ठेकेदार छनोट

मेलम्ची नदीको दैनिक करिब साढे आठ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा निर्माण गर्न लागिएको पानी प्रशोधन केन्द्र निर्माण गर्न अस्टि्रयाली कम्पनी छनोट भएको छ । सहरी विकास मन्त्रालयका अनुसार ग्लोबल टेन्टर मार्फत छनोट गरिएको कम्पनीमा अस्टि्रयाको भा टेक वाबाग लिमिटेड रहेको छ । सोही कम्पनीमा प्रतिभा इन्डस्टि्रज लिमिटेड भारतको साझेदारी रहेको छ ।
छनोटमा परेका ती कम्पनी र मेलम्ची खानेपानी विकास समितिबीच निर्माण कार्यसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुरुप सो कम्पनीले २७ महिनाको अवधिमा पानी प्रशोधन केन्द्र निर्माण गरिसक्नुपर्नेछ ।
सो कम्पनीले केन्द्र निर्माणका निम्ति करिब चार अर्ब २० करोड बोलकबोल गरेको थियो । समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य र कम्पनीका तर्फबाट एस नटराजले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा सहरी विकासमन्त्री छविराज पन्तले नेपाल सरकारले उच्च प्राथमिकता दिएको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सरकारका तर्फबाट सबै काम समयमै सम्पन्न गर्दै आएको जानकारी गराउनुभयो । उहाँले आयोजनालाई सहयोग गर्न स्थानीय समुदायलाई आग्रह पनि गर्नुभयो ।
मुख्यसचिव लीलामणि पौडेलले राजधानीवासीको अपेक्षाअनुरुप आयोजनाले आफ्ना काम समयमै सम्पन्न गर्न ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले आयोजनाको अर्काे महत्वपूर्ण पक्षको रुपमा रहेको मेलम्चीको सुरुङ खन्ने कार्यसम्बन्धी सम्झौता पनि आगामी हप्ता हुने जानकारी दिनुभयो ।
आगामी २०७३ वैशाख १ गतेसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने सहरी विकास मन्त्रालयले लक्ष्य लिएको छ । एसियाली विकास बैंक, जापान सरकारलगायत विभिन्न दातृ समुदायको आर्थिक सहयोग प्राप्त हुँदै आएको सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्न सहरी विकास मन्त्रालयले नयाँ समयसीमा निर्धारण गरेको छ । यद्यपि सन् २००१ देखि नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजनालाई सन् २००७ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । रासस

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind