गर्भ तुहाउने पतिलाई ६ महिना कैद

कुटपिट गरेर पत्नीको गर्भ तुहाउने, ढाड भाँच्ने र गाला टोकेर घाउ बनाइदिने पति साबिरलाई बाँके जिल्ला अदालतले ६ महिना कैद, २५ हजार जरिवाना र ७५ हजार क्षतिपूर्ति फैसला सुनाएको छ ।
घरेलु हिंसा घटनामा अदालतले पहिलोपटक यस्तो फैसला गरेको हो । न्यायाधीश शेखरप्रसाद पौडेलको सोमबारको इजलासले पत्नी तरुनमबानो हल्वाईलाई गर्भ तुहाउने गरी कुटेर शारीरिक तथा मानसिक यातना दिने नेपालगन्ज ८ का साबिरअली हल्वाईलाई अदालतले उक्त सजाय सुनाएको हो ।
पीडकलाई कैदसहित जरिवाना र क्षतिपूर्ति तिराउने गरी भएको फैसला बाँकेमा पहिलो भएको अदालतका फौजदारी मुद्दा फाँटका अधिकृत इन्द्र कार्कीले बताए । ०६९ पुस ८ गते राति साबिरले पन्युले कुटेर भित्ता ठोक्काउँदा तरुनमको टाउको फुटेको थियो । उपचारका क्रममा उनको टाउकोमा ५ वटा टाँका लगाएको छ ।
त्यसअघि पतिले कुटपिट गर्दा पेटमा चोट लागेर गर्भ तुहिएको पीडितले बताइन् । उनको ढाड पनि भाँचिएको छ । कुटाइपछि साबिरले भाग्ने डरले घरमै थुनेर यातना दिने गरेको तरुनमले बताएकी छन् ।
'यसले (साबिर) गालामा टोकेर घाउ बनाइदिन्थ्यो । रातभरि कुटेर राख्थ्यो । कुटाइले मेरो शरीर कमजोर भएको छ,' उनले भनिन् । पतिको चरम यातना सहन नसकेपछि उनी नेपालगन्ज ६ पुल्टेक्रास्थित माइती आएकी छन् । हाल उनी दुई छोरासहित माइतीमै बस्छिन् । गर्भ तुहाउने र ढाड भाँचिने गरी पतिले दिएको यातनाविरुद्ध तरुनमले ०६९ पुस ११ गते जिल्ला प्रहरी, बाँकेमा उजुरी दिएको कानुनी सहयोग गर्दै आएकी अधिवक्ता पुनम श्रेष्ठले बताइन् ।
उजुरीपछि प्रहरीले पति-पत्नीबीच मेलमिलाप गराउन दुईपल्ट छलफल गराए पनि मिल्न नसकेपछि मुद्दा दायर गरेको उनले बताइन् । 'पतिको यातना चरम थियो । त्यसैले उनले प्रहरीमा नमिलेर अदालत आउने साहस गरेकी हुन्,' अधिवक्ता श्रेष्ठले भनिन्, 'अदालतबाट सकारात्मक फैसला आएको छ । छिट्टै कार्यान्वयन होस् ।'
तरुनम र साबिरबीच ०५५ मा विवाह भएको थियो । त्यसको एक/दुई वर्ष राम्रै गरी राखे पनि पछि पतिले दैनिक यातना दिने गरेको पीडितले बताइन् । घटनापछि साबिर फरार रहेको प्रहरीले जनाए ।
घरेलु हिंसाका घटनालाई समाजमा मिलाउने परम्पराका कारण नियन्त्रण हुन सकेको छैन । तरुनमको घटनामा पनि दुईपल्ट मिलापत्र गर्ने प्रयास गरिएकै हो । कानुनले पीडित व्यक्तिको सुरक्षा र सेवा केन्द्रको व्यवस्था गर्न भने पनि व्यवहारमा कार्यान्वयन नहुँदा हिंसाका घटनालाई पीडितले बाहिर ल्याउन मान्दैनन् । यही कारण हिंसाका उजुरी निकै कम दर्ता हुने गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind