राजा होइन राष्ट्रपति मान्ने प्रस्ताव गरेको हो ज्ञानेन्द्रलाई:

एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने प्रस्ताव राखेको स्वीकार गर्नुभएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सांस्कृतिक राजा राख्ने प्रस्ताव भट्टराईले गरेको बताएपछि भट्टराईले त्यसको खण्डन गर्दै ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको बताउनुभएको हो ।
थापासँग युद्धकालमै भेट भएको र लामो कुरा भएको स्वीकार्दै भट्टराईले अर्ध सत्य कुरा गरेर भ्रम छर्न खोजेको आरोप लगाउनुभएको छ । राप्रपा नेपालका अध्यक्ष थापाले भने जस्तै नेपालगञ्जका तत्कालीन नगर प्रमुख धवल शमशेर राणासँगको घरमा भेटवार्ता भएको भने भट्टराईले स्वीकार गर्नुभएको छ ।
‘कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिले नै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटी पठाउनु उपयुक्त ठान्यौ ।’
आफ्नो फेसबुकमा भट्टराईले भन्नुभएको छ ‘धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसार ज्ञानेन्द्र नेपाली सिंहानुक  बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्वाव गरें ।’
तर कुराकानीमा थापाले संवैधानिक राजतन्त्र मानिदिन आग्रह गरेकोले कुरा नमिलेको भट्टराईले उल्लेख गर्नुभएको छ । आफूहरु सांस्कृतिक राजा वा बेबी किङको पक्षमा नरहेको भट्टराईले उल्लेख गर्नुभएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind