इमेज टीभी सरकारबिरोधीबाटै बन्द गरिएको खुलासा


आइतबार साँझदेखि इमेज टेलिभिजन च्यानल केही केवल अपरेटरहरुले बन्द गरेपछि सोमबार दिनभर च्यानल काट्नेहरुको खोजी भयो ।
इमेज च्यानल स्वयंले च्यानल बन्द हुनुको कारण स्पष्ट हुन नसकेको समाचार प्रसारण गर्‍यो । त्यसका समाचार सम्पादक महेन्द्र बिष्टले भने ‘हामीले सरकारविरुद्ध समाचार बजाएका कारण दबाबमा बन्द गरिएको हुनसक्छ ।’ त्यसपछि प्रेस चौतारी र प्रेस युनियनलगायतका पार्टी निकट पत्रकारका संस्थाहरुले प्रधानमन्त्रीको दबाबमा इमेज टेलिभिजन बन्द गरिएको ठोकुवा गर्दै विज्ञप्ति निकाले ।
तर, इमेज टेलिभिजन बन्द गर्ने केवल टेलिभिजन संघका सदस्य एवं सुबिसु केवलका संचालक सुधीर पराजुलीले भने त्यस्तो हल्लालाई ‘बकम्फुसे हल्ला’ मात्र बताए । ‘हामी अहिले सरकारले ल्याएको संसोधित ऐनको बिरोध गरिरहेका छौं’ उनले भने- ‘सरकारलाई दबाव दिने आन्दोलनको घोषित कार्यक्रमअनुसार इमेजको प्रसारण बन्द गरिएको हो, प्रधानमन्त्रीको दबाबमा भन्नु बकम्फुसे हल्लामात्र हो ।’
माघ २ गतेदेखि नेपाल टेलिभिजन र एनटीभी प्लस टेलिभिजन पनि बन्द गर्न लागेको जानकारी गराउँदै पराजुलीले भने- ‘स्वयं प्रधानमन्त्री भट्टराई इमेज टीभीको बाषिर्कोत्सव कार्यक्रममा सहभागी भइरहेका बेला हामीले प्रसारण काटेका हौं, प्रधानमन्त्री कार्यालयको दबाब भन्नु धमिलो माछा मार्न खोज्नु हो ।’
आफ्ना माग पूरा नभए माघ ९ गतेदेखि सबै टीभीको प्रसारण बन्द गर्ने कार्यक्रम रहेको उनले बताए । आफ्नो आन्दोलनलाई इमेज टेलिभिजनले असहयोग गरेका कारण सबैभन्दा पहिले इमेज काटिएको पराजुलीले बताए ।
बिरोध किन ?
सरकारले हालै राष्ट्रिय प्रसारण नियमावलीमा छैटौं संसोधन गरेको छ । सरकारले गरेको संशोधनमा हाल एनालग प्रबिधिबाट चलेका केवुल टेलिभिजनहरु अनिवार्यरुपमा डिजिटल प्रविधिमा जानुपर्ने हुन्छ । यसका लागि सरकारले छुट्टै मल्टिपल सिष्टम अपरेटरको व्यवस्था गर्दै सबै केवल टीभीहरु त्यही अपरेटरको माध्यमबाट सञ्चालन हुनुपर्ने व्यवस्था गरेपछि केबुल प्रसारण व्यवसायीहरु मर्कामा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
नियमावलीमा गरिएको नयाँ व्यवस्थाअनुसार अब एउटा मात्रै च्यानल चलाउन केवल टीभीले सरकारलाई बाषिर्क १ लाख २५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्छ । ‘यस हिसाबमा १ सयवटा च्यानल चलाउने अपरेटरले बाषिर्क १ करोड २५ लाख सरकारलाई बुझाउनुपर्ने भयो’- पराजुलीले भने-’यो सरासर केवल टीभी व्यवसायीलाई विस्थापित गर्ने षडयन्त्र हो ।’
डीटीएच र केबुलवालाको लडाइँ
अर्का एक केवल सञ्चालकका अनुसार डाइरेक्ट टु होम टीभी (डीटीएच) प्रविधि र केवल टीभी प्रविधिवीचको लडाइँ अहिले उत्कर्षमा पुगेको छ । डीटीएचमा इमेज, कान्तिपुरलगायत सबैजसो ठूला टेलिभिजन च्यानलको सेयर छ । अर्बौ लगानी गर्दा पनि डीटीएच कम्पनी केवल प्रविधिसँग प्रतिस्पर्धा गर्न नसकेपछि टेलिभिजनहरुकै षडयन्त्रमा सरकारसँग मिलेर नयाँ व्यवस्था ल्याइएको केवल अपरेटरहरुको आरोप छ ।
‘डीटीएच फ्लप भएपछि बिदेशीलाई बेच्नुपर्ने अवस्थामा पुगेका छन्’ संघर्ष समितिका अर्का सदस्यले अनलाइनखबरसँग भने-त्यो असफल भएपछि फेरि मल्टिपल सर्भिस अपरेटर (एमएसओ) को लाइसेन्स लिएर टीभी च्यानलका साहुहरु केवललाई पेल्न खोजिरहेका छन् । कान्तिपुरसहितका केही च्यानलको मिलेमतोमा एमएसओको लाइसेन्स लिइएको उनीहरुको दाबी छ ।
हावादारी र उल्टो प्रचार
घोषणै गरेर बाबुराम सरकारबिरुद्ध केवुल टिभीहरुले आन्दोलन गरिरहेका बेला देशका केही ‘दिग्गज पत्रकार’हरु सलग्न संस्थाहरुले भने उल्टो सरकारकै दबाबमा टीभी बन्द गरिएको भन्दै वक्तव्यबाजी गरे । इमेज टीभीका महेन्द्र विष्टले च्यानल बन्द हुनुको कारण प्रष्ट नभएको बताइरहेका बेला एमालेनिकट प्रेस चौतारीले एककदम अगाडि बढेर प्रधानमन्त्री कार्यालयबाट पत्र काटेरै इमेज बन्द गरिएको ठोकुवा गर्‍यो । त्यस्तै नेपाली कांग्रेसनिकट प्रेस युनियनले सरकारविरुद्ध समाचार प्रसारण गरेकै कारण इमेज बन्द गरिएको दाबी गर्दै ‘अधिनायकवादी शासन लाद्ने षड्यन्त्रको पाटो भएको’ दाबी गर्यो । तर, यथार्थतामा चाहिँ सरकारविरोधी आन्दोलनलाई साथ नदिइएको आरोपमा केबुलवालाले चाहिँ टीभी बन्द गराएका रहेछन् ।
हेर्नुहोस् चौतारी र प्रेस युनियनको प्रेस वक्तव्य


0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind