माघे सङ्क्रान्ति मनाइदै


आज माघे सङ्क्रान्ति पर्व मनाइदै छ । जलाशय, नदी, तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल दान एवं खाई मनाइँदैछ। ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जान्छ। ‘भविष्यपुराण’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र आगो ताप्ने मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी होइने उल्लेख छ।

लड्डु तथा घिउचाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यः चाकु सन्हु’ तथा नेपालीमा ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ। यस पर्वमा नेपालको शङ्खमूल, देवघाट, वराहक्षेत्र, पनौती, दोलालघाट र कन्काई तथा भारतका प्रयाग र गङ्गासागरलगायत नदी तथा त्रिवेणीमा स्नान, दान, श्राद्धलगायत कार्य गर्नेहरूको ठूलो भिड लाग्छ। नेपालको रुरु रिडी क्षेत्रमा आजदेखि तीनदिन सम्म धुमधामका साथ मकर मेला लाग्ने गर्छ।

आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने तथा शरीरमा भएका विकारलाई बाहिर पठाउने उल्लेख गरिएको छ। शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। यसै दिन भक्तपुरको टौमढी टोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ।

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind