सर्वेक्षक श्याम सिलवाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
घुससहित रंगेहात पक्राउ परेका नापी कार्यालय डिल्लीबजारका सर्वेक्षक श्याम सिलवाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सर्भेका क्रममा फिल्डमा जाँदा खर्च लाग्ने भन्दै सिलवालले रकम माग गरेपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए । सेवाग्राहीले आठ हजार रुपैंया बुझाए लगत्तै निगरानीमा गएको अख्तियारको टोलीले सिलवालको साथबाट ७ हजार रुपैंया बरामद गरेको हो । उनले एक हजार रुपैंया त्यसअघि नै दिएका थिए । अख्तियारले आरोपितलाई सेवाबाट बर्खास्तका साथै भ्रष्टाचार निवारण ऐन अनुसार तीन महिना कैद र विगो जरिवनाको सजाय माग गरेको छ ।
निगरानीका क्रममा नापी कार्यालय पुग्दा वडापत्रमा उल्लेख भए अनुसार सेवा प्रवाह नगरेको, पिरमर्का सुन्ने भरपर्दो व्यवस्था नभएको र खुलमखुला मोलमोलाई हुने गरेको अख्तियारले भेटेको थियो । यस्ता घटना हुन नदिन डिल्लीबजार नापी कार्यालयका प्रमुख विजय महतोलाई सचेत गराइएको अख्तियारले जनाएको छ ।