बाढी पीडितलाई वैदेशिक रोजगारीमा पठाउनेसम्मको व्यवस्था

बाढीपहिरो लगायत दैवी प्रकोपको बेला सचेतना र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । बाढी पहिरो पीडितलाई उद्दार र राहतको लागि जिल्ला र केन्द्रबाट समेत सतर्कता अपनाइएकाले आवश्यक जानकारी दिन गृह मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका अनुसार केन्द्रीय दैवी प्रकोप उद्दार समितिको टेलिफोन नम्बर ०१ ४२००१०५ मा फोन गरेर आवश्यक सूचना र जानकारी दिन सकिन्छ । यस्तै सम्बन्धित जिल्लाको दैवी प्रकोप उद्दार समिति र प्रहरीलाई पनि खबर गर्न सकिन्छ ।
बाढी पहिरो लगायत दैवी प्रकोपको खबर पाए लगत्तै उद्दारको लागि जिल्लाबाट टोली खटिनेछ । यस्तै थप सहायताको लागि केन्द्रबाट समेत उद्दारकर्मी खटाउन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अन्तर्गतको केन्दि्रय दैवी प्रकोप उद्दार समितिले मापदण्ड नै तयार गरेर उद्दार तयारी व्यवस्थापन र आपतकालिन उद्दार तथा राहत वितरणको काम गरिरहेको छ । खोज र उद्दारका लागि सबै जिल्लामा दैवी प्रको उद्दार समिति गठन गरिएको छ । यसमा न्यूनतम २५ जना उद्दारकर्मीलाई उद्दार कार्यमा प्रयोग हुने आवश्यक सामग्रीहरु सहित तयारी हालतमा राखिएको हुन्छ । उद्दार गर्नुपर्ने अवस्थामा ती उद्दारकर्मीसँगै सेना र प्रहरी पनि घटनास्थलमा खटिन्छन् ।
प्रकोपको समयमा विस्थापित परिवारलाई सुरक्षित ठाउँमा राखी शिविर संचालन गर्न तथा सम्भव भएसम्म विद्यालय, स्वास्थ्य केन्द्र बाहेक पहिचान गरिएका खुला क्षेत्रहरु प्रयोग गर्न समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
उद्दार र राहतको व्यवस्था
प्रकोपको घटनामा कुनै व्यक्तिको मृत्यु भएमा प्रति मृतक ४० हजार रुपैंयाको दरले मृतकका परिवारलाई राहत सहयोग उपलव्ध गराइने समितिले जनाएको छ । यस्तै घर नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन समेत नोक्सानी भै तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई तत्काल आवश्यक व्यवस्थाको लागि प्रतिपरिवार ५ हजार रुपैंयासम्म सहयोग उपलव्ध गराइनेछ ।
घटनामा परी खाद्यान्न, लत्ताकपडा लगायत नष्ट भै विस्थापित भएमा त्यस्ता परिवारलाई प्रतिपरिवार २० हजारसम्म आर्थिक सहयोग उपलव्ध गराउने व्यवस्था छ । साथै विशेष परिस्थितिको सृजना भएको अवस्थामा थप सहायता उपलब्ध गराउनुपर्ने देखिएमा जिल्ला दैवी प्रकोप समितिले केन्द्रीय दैवी प्रकोप उद्दार समितिमा सिफारिस सहित अनुरोध गरेमा केन्द्रीय दैवी प्रकोप उद्दार समितिले थप १५ हजार रुपैंयासम्म प्रतिपरिवार उपलव्ध गराउनेछ ।
प्रकोपका घटनामा परी घाइते हुनेहरुलाई जिल्ला दैवी प्रकोप उद्दार समिति मार्फत सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च भुक्तानी गरीदिने र अस्पतालबाट घर जान आर्थिक सहयोग स्वरुप प्रतिव्यत्तिः एकहजार रुपैंया र यातायात खर्च दिने व्यवस्था गरिएको छ । प्रकोप पीडितहरुलाई पुनस्थापना तथा पुनर्निर्माणका लागि प्रचलित नीति तथा कानुन बमोजिम वन मन्त्रालय अन्तर्गतको जिल्ला स्थित तोकिएको निकायले सहुलियत दरमा काठ उपलब्ध गराउने नीति छ ।
यस्तै पीडित परिवारका सदस्यमध्ये कुनै एकजनालाई वैदेशिक रोजगारमा जाने ईच्छा भएमा उमेर र अवस्थालाई विचार गरी सम्बन्धित व्यक्तिको खर्च एवं जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगारीमा पठाउने व्यवस्था पनि छ । घटना भएको ३० दिनभित्र सूचना प्राप्त भएको घटनाका लागि मात्र राहत सहयोग उपलब्ध गराइने समितिले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind