‘व्यवसायिक संगीत, खस्कदो गुणस्तर’
संगीत, मानव देखि जीवजन्तु सम्मलाई आनन्द दिने माध्यम । संगीतको तालमा मानिस मात्र होइन पशुपंक्षी पनि आनन्दित हुन्छन् भनिन्छ । यसैले पनि संगीतको क्षेत्रमा आकर्षण दिनानुदिन बढ्दै गएको छ । विश्व संगीत दिवसको अवसर पारेर नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । नेपालमा संगीतको बिषयमा चर्चा भइरहदा यसको गुणस्तर र व्यवसायिकताको बहस पनि चल्न थालेको छ । दशक अघिका गीतसंगीत अझै पनि नेपाली श्रोताको मन मस्तिष्कमा ताजै छन् । तर अहिले बनेका पप, आधुनिक या फिल्मी गीत नै किन नहुन्, खहरे खोलाको बाढी जस्तो छन् भनिन्छ ।डीजिटल प्रविधिको विकाससँगै संगीत सरल र सस्तो बनेको धेरैको तर्क छ । नेपाली संगीतका चर्चित संगीतकार शम्भुजित बास्कोटा गीतसंगीतको बिग्रदो अवस्था देखेर आफूलाई चिन्ता लागेको बताउँछन् । नेपाली श्रष्टाहरुले क्रियशनलाई भन्दा पनि प्रोफेशनलाई धेरै ध्यान दिदा संगीत विगि्रएको उनको तर्क छ । ‘पहिलेका संगीतकारहरुमा घराना बनोस् भन्ने हुन्थ्यो तर अहिले त्यो लगाव पाइदैन’, संगीतका बादशाहले भने ।
उनले आफूहरुको समयमा आएका आइटम गीत अझै पनि चर्चित भएको बताउँदै भने, ‘म प्यार बेचिदिन्छु, हाम्लाई पनि मायाले हेर’, ‘ए संगीता’ जस्ता आइटम गीतहरुमा कुनै अश्लितता थिएन तर अहिले भारतिय आइटम गीतको प्रभाव हाबी भएको छ ।’ ‘गीत भनेको कसले बनाएको हो, कसले गाएको हो सुनेरै थाहा हुनुपर्छ तर अहिले त सोध्नु पर्छ’, शम्भूजितले भने । राज्यले वास्तविक श्रष्टाहरुलाई सम्बोधन गर्ने हो भने पैसाको धाकमा यो नगरीमा आएकाहरुले केही गर्न नसक्ने संगीतका बादशाहको भनाई छ ।
संगीतकार बसन्त सापकोटा डीजिटल मार्केटको विकाससँगै श्रष्टाहरु अल्छि बनेको कुरा स्विकार गर्छन् । उनी भन्छन्, ‘अहिले गीत विगि्रयो भने पनि कप्युटरले बनाइदिन्छ, भन्ने प्रचलन बढ्दै गएको छ जसका कारण जो पनि गायक गायिका बन्न थालेका छन् ।’ आमसंचार माध्यमको बढ्दो पकड हुँदा पनि कमै मात्र गीत हिट हुनुलाई डीजिटल प्रविधिको दुरुपयोग हो भन्न सकिन्छ ।
विक्रीको हिसाबले कम भएपनि गीतसंगीत सुन्ने श्रोता बढेको तर्क धेरै श्रष्टाहरुको छ । संगीतकार सापकोटा देशमा भन्दा पनि विदेशमा बस्ने नेपालीहरुले नेपाली गीसंगीतलाई अझ महत्व दिएकाले श्रोता बढेको तर्क गर्छन् । अहिले आफूलाई मनपर्ने भन्दा पनि अरुलाई मनपर्ने गीतसंगीत बनाउनु पर्ने भएकाले पनि गुणस्तरियता घटेको धेरैको तर्क छ । अर्कोतिर अरुले भनेजस्तो गीत बनाएर छिट्टै रकम कमाउन चाहन श्रष्टाहरुको सोचका कारणले पनि संगीतको गुणस्तरियता घटेको हो ।
यता संगीतकार महेश खड्का भने राम्रो गीतले स्थान नपाएको गुनासो गर्छन् । संचारमाध्यममा आर्थिक अभावका कारण प्रचारप्रसार गर्न नसक्ने श्रष्टाहरुको गीतले स्थान नपाएको गुनासो उनको छ । खड्काका अनुसार गीतसंगीतको स्तर कमजोर भएको भन्दा पनि स्थान कम भएको हो ।
नेपाली गीतसंगीतको बजारमा पैसा लगानी गरेर गायक, गायिका, गीतकार बन्नेहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ । डीजिटल प्रविधिलाई प्रयोग गर्दै रकम खर्च गरेर संगीत तयार हुँदा यसको गुणस्तर खस्केको धेरैको तर्क छ ।
नेपाली संगीत बजारमा पाश्चत्य गीतसंगीतको प्रभाव पनि नपरेको होइन । उसो त नेपाली बजारमा भारतिय र अंग्रेजी गीतसंगीत हाबी हुँदा नेपाली गीतसंगीत अप्ठ्यारोमा परेको भनाई केही श्रष्टाहरु व्यक्त गर्छन् । नेपाली संगीतको क्षेत्रमा निरन्तर लागेको खण्डमा जीवन धान्न गाह्रो नहुने भनाई धेरै श्रष्टाहरुले व्यक्त गरेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind