जेठ १४ मा पनि संविधान नआउने संवैधानिक समिति सभापतिको दावी ।।


संविधानसभा अन्तर्गतको संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले जेठ १४ गते नयाँ संविधान नआउने दावी गर्नुभएको छ । आज रिपोर्टर्स क्लब काठमाडौमा सभापति आचार्यले ‘प्रमुख राजनीतिक दलहरुको गतिविधि यथास्थितिमै रहिरहने हो भने जेठ १४ गते संविधान जारी हुनै नसक्ने ठोकुवा गर्नुभयो । आचार्यले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्य पुनसंरचना, नागरिकताजस्ता प्रमुख विषयमा दलहरुबीच सहमति हुन नसकेको र दलहरुले संविधान निर्माणलाई भन्दा सत्ता स्वार्थलाई बढी ध्यान दिएकाले संविधान बन्न नसकेको दाबी गर्नुभयो । ‘जेठ १४ गते संविधान बन्न सकेन भने मुलुक ठूलो संकटमा फस्ने’ भन्दै आचार्यले सत्ता स्वार्थलाई त्यागी संविधान निर्माणलाई केन्द्रविन्दु बनाउन दलहरुलाई सुझाव दिनुभयो । प्रमुख दलहरुका शीर्ष नेताहरु सम्मिलित संयुक्त राष्ट्रिय सरकार नबनेसम्म मुलुक शान्ति प्रक्रिया र संविधान निष्कर्षमा पुग्न नसक्ने भन्दै आचार्यले आजै बिहान बसेको विवाद समाधान उपसमितिको बैठकमा प्रमुख दलहरुका चारथरी धारणा आएको सहमति हुन नसकेको औंल्याउँनुभयो । आचार्यले राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस जस्ता राष्ट्रिय पर्वहरु मनाउन छाडिएकोमा दुःख व्यक्त गर्दै २००७ सालको प्रजातन्त्र त्यसपछिका सबै राजनीतिक उपलब्धिको जननी भएकाले यसलाई नमनाउनु आफ्नै बाबुआमालाई नमान्नु सरह भएको आचार्यको विश्लेषण थियो । मुलुकमा जसले प्रजातन्त्र र राष्ट्रिय एकता दिवस मनाएन, त्यो वर्गले नै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताविरुद्ध लान्छना लगाउँदै मुलुकको स्वाधीनतालाई संकटमा धकेल्दै गरेको आरोप आचार्यले लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind