चीनको सिमा तातोपानीबाट अवैध १ सय थान मोबाइलसहित एकजना पक्राउ ।।


चीनसँग नेपालको एकमात्र व्यापारीक नाका सिन्धुपाल्चोकको तातोपानीबाट नेपाल प्रहरीले अवैध एक सय थान मोबाइल नियन्त्रणमा लिएको छ । गएराति साढे ११ बजेतिर भोटेकोसीमा डोरीको तुइन बनाई तिब्बतबाट नेपाल तार्दै गर्दा लार्चाबाट गएको प्रहरी गस्ती टोलीले विभिन्न ब्राण्डका चिनियाँ मोबाइलसहित एक जनालाई पक्रेको सिमा सुरक्षा प्रहरी बल कोदारीका प्रहरी निरीक्षक विश्व कार्कीले जानकारी दिनुभयो । प्रहरीले अवैध मोबाइल भित्र्याउन खोज्ने सिन्धुपाल्चोक जिल्लाको हगाम गाविस वडा नम्बर ८ का मङ्गलबहादुर तामाङलाई पक्रेको छ । पक्राउ परेका तामाङ र पाठपूर्जासहितको मोबाइल भन्सार कार्यालय तातोपानीमा आज बुझाइने प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । प्रहरीले दुई दिनअघि पनि भोटेकोसीमा डोरीको तुइन बनाई तिब्बतबाट नेपाल तार्दै गरेको अवस्थामा २० थान इभिडिसहित दुई जनालाई पक्रेको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind