“होली”
होली परिचय
फाल्गुण पूर्णिमाको दिन मनाइने फागु पर्वलाई भारतमा “होली” भनिने हुनाले सोही सिको गरेर नेपालमा पनि आजकाल होली नै भन्ने गरिन्छ । यो पर्ब वसन्त ऋतुको स्वागत गर्न र आपसी मेलमिलाप र सदभावना बढाउन बिभिन्न रङहरुको प्रयोग गरेर मनाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुर गद्दी
बैठकअगाडि रहेको मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकाले सिँगारी गाडिएको चीरमा पूजा गरेपछि फागु पर्ब शुरु भएको मानिन्छ । तेसै गरी ललितपुरमा पनि सोही दिन चीर गाड्ने प्रचलन छ ।
फागुको दिन (पूर्णिमाको दिन) वसन्तपुरमा गाडिएको चीरलाई विधीपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् । सो चीरमा राखिएका ध्वजापताकाहरु औषधीउपचारमा काम लाग्ने भनेर खोसाखोस गरि लिने गरिन्छ । तेस्तै चीरको खरानीको टीका लगाएमा अनिष्ट टर्ने पनि मानिसहरुमा बिश्वास छ । ललितपुरमा गाडिएको चीर भने फागुको दिनमा बागमतीमा लगेर सेलाउने गरिन्छ ।
तेस्तै, फागुको रात गुरुमापा नाम गरेको राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु टुँडिखेलमा खुवाई सैनिक अस्पतालभित्र रहेको जधु नाम गरेको धारामा चुठाउने चलन पनि छ ।
हिन्दू धर्मशास्त्रमा उल्लेख एक किम्बदन्ती अनुसार हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई मार्न आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिका संग प्रल्हादलाइ आगोमा पस्न लगाएकोमा होलिका भष्म भएकी तर प्रल्हादलाई भने केही नभएको मानिन्छ । राक्षस प्रवृतिकी होलिका मारिएको उपलक्ष्य होली खेल्न शुरु भएको पनि मानिन्छ ।
पहाडी भागमा पूर्णिमाको दिन मनाइने होली तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट भव्यताका साथ मनाइने गरिन्छ । यस पर्बमा थकालीहरुले तीर हान्ने प्रतियोगिताको पनि आयोजना गर्छन् ।
होली बिकृति
- इच्छाविपरीत अरुलाई पानी भरिएको बेलुन र प्लास्टिकले हान्ने र रंग लगाइदिने
- होली शुरु हुनु भन्दा कयौं दिन अगाडी देखिनै पानीले भरिएको बेलुनको प्रयोग
- गाँजा, भांग आदि लागु पदार्थको प्रयोग
- डान्स, डिस्को र अनाबश्यक खर्च
- इनामेल आदिको रंग पोत्ने, आतंक र हूलदंगा
- रंगमा हुने मिसावटले छालामा नराम्रो असर
- जबर्जस्ती लगाइने रंगले कसै कसैलाई हुने एलर्जीक रियाक्सन
होली रमाइलो र उन्मुक्तताको चाड हो। सबैले आफ्नो हिसाबले रमाइलो गर्न (वा, नगर्न) पाउनु पर्छ । कसैको पनि व्यक्तिगत इक्षा बिपरीत रंग, लोला वा अन्य कुनै पनि बस्तुको प्रयोग गर्दा यो चाडको सदभाब खल्बलिन्छ ।
ह्यापी होली!
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind