महिलालाई समान अवसर दिन समानुपातिक प्रतिनिधित्व आवश्यक ।।


शान्ति तथा पुननिर्माण मन्त्री सत्या पहाडीले महिलालाई समान अधिकार र अवसर प्रदान गर्नका लागि विशेषाधिकारसहितको समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय महिला आयोगको ११औँ वार्षिकोत्सवको अवसरमा आज आयोग सभाकक्षमा काठमाण्डूको भद्रकालीमा आयोजित कार्यक्रममा उहाँले मुलुकको समग्र विकासका लागि समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको स्पष्ट पार्नुभयो । मन्त्री पहाडीले समाजमा महिला अधिकार स्थापित गर्न, उनीहरूको समान सहभागिता गर्न, हिंसा अन्त्य गर्नेजस्ता कार्यक्रममा सचेत महिलाहरू केन्द्रित भइरहेकाले त्यस्ता कार्यक्रमलाई गाउँगाउँसम्म पु¥याउनु पर्ने उल्लेख गर्नुभयो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बालानन्द पौडेलले महिलाका अधिकारलाई संवैधानिकरूपमा सम्बोधन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदताराले सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका विविध कारण महिला हिंसा व्यहोर्न बाध्य भएकाले उनीहरूलाई अधिकार सम्पन्न गराउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । युएन वमेनका सङ्गीता थापाले समाजलाई हिंसारहित बनाउन घरबाट नै शून्य सहिष्णुताको विकास गर्नुपर्ने तथा यसका लागि महिला र पुरुषको समान सहभागिता आवश्यक रहेको चर्चा गर्नुभयो । आयोगका सदस्य मोहना अन्सारीले महिलाको हकहित तथा अधिकार स्थापित गर्न आयोगले विसं २०६६ देखि २०७१ सम्मको रणनीति तयार पारी काम गरिरहेको जानकारी गराउनुभयो । आयोगका सचिव डा बद्री पोख्रेलले पछाडि पारिएका महिलालाई समान अधिकार स्थापित गराउन र समतामूलक समाज निर्माणका लागि आयोग स्थापना भएको बताउनुभयो । कार्यक्रममा महिला अधिकारकर्मी चाँदनी जोशी, सभासद् काशीदेवी झा, व्यवसायी मीरा भट्टराई, प्रशासक उर्मिला श्रेष्ठ, पत्रकारहरु निर्मला शर्मा र उषा तितिक्षु सम्मान गरिएको थियो भने आयोगका उत्कृष्ट कर्मचारीका रूपमा हरिहर कार्कीलाई पुरस्कृत गरिएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind