कालिमाटी कालरात्रीको त्यो क्षण…


सधैं झैं शनिबार राति पनि तरकारी थन्कोमन्को लगाई म नजिकैको कोठामा गएँ । तरकारी बजारमा रातभरी नै चहलपहल भैरहन्छ । राजधानी बाहिरबाट तरकारी बोकेर आउने गाडी बिशेषगरी रातिको समयमा मात्र छिर्ने भएका व्यापारी, भरिया र गाडी मजदूरहरुको आईजाई बढी हुने गर्छ । शनिबार म निस्कने बेला पनि यस्तै चहलपहल थियो ।

लोडसेडिङको कारण राति १० बजे मात्रै बत्ति आउने थियो । बत्ती आइसकेपछि खाना खाएर सुत्ने तरखर मात्र के गरेको थिएँ तरकारी बजारमा एकैपटक आगोको राँको र धूवाँ देखियो । आफ्नो पसल भएकै भवनबाट निस्केको राप र धुवाँले म अत्तालिएँ । त्यसपछि हत्तपत्त साथीलाई खबर गरेर त्यहाँ पुग्दा आगो निकै सल्सिकेको थियो । झटपट मलाई आफ्नो पसलसँगै माथि बस्ने सुरक्षा गार्डका परिवारको पनि याद आयो । माथि भवनमा सुरक्षा गाडसँगै तरकारी पसल आसपासमा भरियाहरु पनि सुत्ने गर्थे । लौ मान्छे परेहोला भनेर म सिंढीबाट उक्लन मात्रै लागेको थिएँ, धूवाँले निसासिएँ । धन्न साथीले तानेर मलाई जोगाई । हामी आँबै र बाबै गर्न थाल्यौं । प्रहरी र दमकल पनि आईसकेको थियो । अरु मान्छेहरु पनि जम्मा हुन थाले । सबै मिलेर आगो निभाउने प्रयास गर्यौं । तर हेर्दाहेर्दै सबै खरानी भयो । भण्डार गरेर राखिएका तरकारीका थुप्रो आँखा अगाडि नै स्वाहा भयो । त्यति ठूलो भवनमा हृवारहृवार्ति आगो दन्कँदै गयो । तरकारी राख्ने टोकरी, डोका, टहराका छाना सबै बले ।
व्यापारीमध्ये कोही रुँदैथियौं, कोही कराउँदै । बल्लतल्ल आगो निभ्यो । मान्छे पनि परेछन् भन्ने कुरा पछि मात्रै थाहा भयो । हिजोसम्म तरकारीको थुप्रो देखिने टहरामा बिहान भएपछि खरानी र जलेका तरकारीको थुप्रो मात्रै देखिन्थ्यो । कतै धुवाँ उडिरहेका । सधैं तरकारी बेच्नै व्यस्त हुने मजस्ता धेरै साथीहरु अहिले पनि मलिन भएर यही जलेको भवन वरपर भौंतारिरहेका छौं । त्यो कहालीलाग्दो क्षण सपना जस्तो लागिरहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind