तराईका दुई सशस्त्र समूहसँग वार्ता
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तराईका दुई वटा सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (झवर शाह प्रताप समूह) र तराई जनतान्त्रिक पार्टी मधेससँग आइतवार वार्ता गरेको छ ।
राजनीतिक माग उठाएर सशस्त्र आन्दोलनमा रहेका समूहहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने अभियानअन्तर्गत मन्त्रालयले समूहहरुसँग वार्ता गरेको हो ।
दिउँसो १ बजे शान्ति तथा पुनर्निर्माण मन्त्रालय, सिंहदरबारमा भएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (झावर शाह प्रताप समूह) सँगको वार्तामा ६ बुँदे सहमति भएको छ ।
सरकारी वार्ता टोली संयोजक शान्ति तथा पुनर्निर्माणमन्त्री सत्य पहाडीसँग भएको वार्तामा मोर्चाका संयोजक झवर शाह प्रतापको नेतृत्वमा बद्रीनारायण हलुवाई र जयकुमार दास (युगेश्वर शाह) सहभागी थिए ।
वार्ताका क्रममा मोर्चासँग मोर्चा शान्ति र संविधानप्रति प्रतिवद्ध रहने तथा सरकारले मोर्चालाई राजनीतिक व्यवहार गर्ने, वार्ताअवधिभर मोर्चाको वार्ताटोलीको सुरक्षा सरकारले प्रदान गर्ने, मोर्चासँग भएका सम्पूर्ण हतियारहरु आगामी वार्तामा सरकारलाई हस्तान्तरण गर्ने, जेल तथा हिरासतमा रहेको मोर्चाका कार्यकर्ताहरुको नामावली अर्को वार्तामा मोर्चाले प्रस्तुत गर्ने र मुद्दाको प्रकृतिको आधारमा सरकारले मुद्दा फिर्ता र बन्दी रिहाइको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
त्यसैगरी मोर्चाले कानूनद्वारा निषेधित कुनै पनि गतिविधि सञ्चालन नगर्ने नगराउने र सरकार र मोर्चाको आपसी सहमतिमा अनुकुलताअनुसार स्थान र मिति तय गरी अर्को वार्ता गर्ने छ बुँदे सहमति भएको छ ।
त्यसै गरी शान्ति तथा पुनर्निर्माण मन्त्रालय, सिंहदरबारमै भएको अर्को समूह तराई जनतान्त्रिक पार्टी मधेससँग भएको वार्तामा सशस्त्र गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आउने बिषयमा छलफल भएको छ । अपरान्ह तीन बजेपछि मन्त्री पहाडी र पार्टीका विरेन्द्र शाहको संयोजकत्वको वार्ता टोलीबीचको छलफलमा छिटै समय र स्थान तय गरी अर्को वार्ता गर्ने बिषयमा सहमति भएको छ । पार्टीसँग कुनै लिखित सहमति भने भएको छैन ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind