शिक्षक सङ्गठनद्वारा देशभर शैक्षिक हड्तालको घोषणा ।।
आफूहरुको माग पूरा गर्न सरकारले तत्परता नदेखाएकोभन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले आजदेखि देशभर शैक्षिक आमहड्तालको आह्वान गरेका छन् । अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि शिक्षा ऐन संसोधन र द्विपक्षीय वार्ता गर्ने बताए पनि सरकारले कुनै वास्ता नगरेका कारण आमहड्ताल आह्वान गर्नुपरेको आन्दोलनरत शिक्षक सङ्गठनहरुको भनाइछ ।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनद्वारा संयुक्त रुपमा गरिएको हड्तालका कारण सरकारी तथा निजी क्षेत्रका प्राथमिकदेखि उच्च माविसम्मका ७५ लाख विद्यार्थीको पढाई प्रभावित भएको छ । आउँदो चैत ७ गतेदेखि सुरु हुने एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थी र कक्षा आठको जिल्लास्तरीय परीक्षा दिने विद्यार्थीहरु हड्तालबाट सबैभन्दा धेरै मर्कामा परेका छन् विद्यालय बन्दले काठमाडौं र ललितपुर जिल्लामा आजदेखि सुरु हुने भनिएको कक्षा आठको जिल्लास्तरीय परीक्षा दुई दिन पछि सारिएको छ, भने म्याग्दी, धनकुटा लगायतका बिभिन्न जिल्लामा भइरहेका बार्षिक परीक्षा पनि स्थगित भएको खबर छ । सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी बन्द गर्न नपाउने निर्णय गरे पनि शिक्षकहरुले त्यसको उल्लंघन गरेका छन् ।
यसैबीच अस्थायी शिक्षकहरुलाई प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने, राहत कोटाका शिक्षकहरुलाई दरबन्दी कायम गरिनुपर्ने लगायत ४७ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा उत्रिएका शिक्षक सङ्गठनहरुले आज देशभरका शिक्षा कार्यालयमा धर्ना दिने भएका छन् । उनीहरुले भालिदेखि अनिश्चितकालीन रिले अनशन पनि सुरु गर्ने घोषणा गरेका छन् । शिक्षामन्त्री दीनानाथ शर्माले भने शिक्षकहरुको माग अधिकांश पूरा भैसकेको दावी गर्दै आम हड्ताल फिर्ता लिएर वार्तामा आउन आग्रह गर्नुभएको छ । मन्त्री शर्माले शिक्षकहरुको माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाइसक्दा पनि शैक्षिक हड्ताल गर्नु दुर्भाग्य भएको बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind