एएफसी च्यालेन्ज कप फुटबल आजबाट सुरु हुँदै ।।


एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता आजबाट राजधानी काठमाडौंमा सुरु हुँदैछ । यो नेपालमा अहिलेसम्म भएको सबैभन्दा ठूलो प्रतियोगिता हो । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा अपरान्ह चार बजे हुने प्रतियोगिताको विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटरले उद्घाटन गर्नु हुनेछ । प्रतियोगिता उद्घाटका लागि ब्लाटर आफ्नो निजि विमानबाट विहान एघार बजे नेपाल आउनुहुने छ । उद्घाटन समारोहमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित प्रमुख दलका शीर्ष नेताहरुको सहभागिता रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
उद्घाटन समारोहमा एक घण्टासम्म चल्नेछ । आगामी चैत्र ६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज बेलुका पाँच बजे प्यालेष्टाइनको सामना गर्दैछ । शनिबार माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानको सामना गर्नेछ । आज अपरान्ह तीन बजे एपीएफको खेलमैदान हलचोकमा तुर्किमिनिस्तान र माल्दिभ्स भिड्नेछन् । ८ देशको सहभागिता रहने प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै प्यालेष्टाइन, माल्दिभ्स र तुर्किमिनिस्तान छन् भने समूह ‘बी’मा भारतसँगै फिलिपिन्स, उत्तर कोरिया र ताजकिस्तान छन् । एन्फाले ३ सय र एक हजार दरको टिकटको व्यवस्था गरेको छ । रंगशालाको क्षमता १५ देखि १६ हजार दर्शक रहे पनि बढीमा १२ र १३ हजार टिकट बेच्ने लक्ष्य रहेको एन्फाले जनाएको छ । त्रिपुरेश्वर, थापाथली र बागदरवारमा टिकट विक्री स्टल राखिएको छ । प्रतियोगिता अवधिभर प्रहरीले सुरक्षा व्यबस्था कडा पारेको छ । एन्फाले बोटल, झलण्डा राख्ने डण्डा, सलाई, लाइटर जस्ता प्रज्वलनशील बस्तु रंगशालामा लैजान रोक लगाएको छ । सुरक्षालाई दृष्टिगत गरि रंगशालाभित्र सिसिटिभी जडान गरिएको छ । सिसिटिभीले खेल मैदान र चारैतिरका प्याराफिटमा हुने गतिविधिको निगरानी गर्नेछ । सुरक्षाका लागि उद्घाटन खेल र अन्य खेल भएका दिन १ हजार ५ सय प्रहरी खटिनेछन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind