चश्माबाट मौसम सम्बन्धि जानकारी (भिडियो सहित)
गुगलको चमत्कारिक चश्मा
गुगल प्लस मार्फत सार्वजनिक गरिएको तस्वीरमा चश्मामा रहेको माइक्रोफोन तथा आंशिक रुपमा पारदर्शी भिडियो स्त्रिmन देखाइएको छ जो चश्मा लगाउने व्यक्तिको दायाँ आँखाको अगाडि पर्दछ ।
पछिल्लो अत्याधुनिक चश्माको विषयमा अनुसन्धान गर्ने शोधकर्ताहरुले गुगल प्लस मार्फत यसलाई सार्वजनिक गरी आफुले यसबारेमा सर्वसाधारणको राय बुझ्न चाहेको बताएका छन् । यो चश्मा बजारमा कहिलेदेखि आउँछ भन्नेबारेमा भने केहीपनि जानकारी गराइएको छैन ।
गुगलको प्रयोगशाला गुगल एक्सले आफ्नो विज्ञप्तीमार्फत प्रयोगकर्तालाई दुनियाका विभिन्न विषयमा सहजै जानकारी प्राप्त हुन सकोस् र यस विषयमा अरुलाई पनि जानकारी गराउन सकियोस् भन्ने हेतुले आफुहरुले पछिल्लो प्रविधिको विकाश गरेको बताएको छ ।
रियालिटी चश्माको विषयमा जारी गरिएको भिडियोका अनुसार यो चश्माबाट उपभोक्ताहरुले विभिन्न १४ प्रकारका सुविधा प्राप्त गर्न सक्नेछन् । यो चश्माबाट मौसम सम्बन्धि जानकारी, भौगोलिक स्थिति तथा डायरीमा लेखिएका व्यस्तता सूचिको जानकारी लगायतका विषयका सूचना चश्माले उपलब्ध गराउने बताइएको छ । साथै चश्माले ट्राफिक अवस्था, भूमिगत यातायातको व्यवस्था, तथा साथीसंगीहरुले भेट्न चाहेको वा कुराकानी गर्न चाहेको विषयमा पनि यो चश्माले जानकारी गराउनेछ । चश्मामा गुगल म्यापको समेत सुविधा रहेको र त्यसको सहायताबाट कुनैपनि व्यक्ति आफुले चाहेको ठाउँमा पुग्नसक्ने बताइएको छ । साथै यो चश्मामा क्यामरा पनि जडान गरिएकाले चश्मा लगाउने व्यक्तिले चश्माले नै फोटो समेत खिच्न सक्छ । त्यतिमात्र कहाँ हो र खिचिएको फोटो नेटवर्किङ साइट मार्फत साथीहरुसँग शेयर गर्न तथा भिडियो सम्वाद समेत गर्न सकिने सुविधा चश्मामा उपलब्ध छ । साथै यो चश्मामा गीत सँगीत समेत सुन्न सकिने सुविधा उपलब्ध छ ।
गुगलले आफ्नो यो चश्माको बजार मुल्य कति हुने ? भन्ने विषयमा औपचारिक रुपमा केहीपनि नबताएको भएपनि केही अन्तराष्ट्रिय संचार माध्यमहरुले भने यसको मूल्य अढाइ सय देखि ६ सय अमेरिकी डलर सम्म पर्नसक्ने अनुमान गरेका छन् । यस्तो चमत्कारिक चश्मा यो वर्षको अन्त्यसम्ममा बजारमा आउने सम्भावना रहेको बताइएको छ ।
स्मरण रहोस् यसअघि पनि विभिन्न कम्पनीले यस्तो प्रकारको सुविधासम्पन्न चश्मा बनाउने प्रयास गरेका भएपनि असफल भएका थिए । तर सन् २००८ मा एप्पल कम्पनीले लेजर प्रविधिमा आधारित टाउकोमा लगाउने डिस्प्ले सिस्टमको पेटेन्ट लिएको थियो जसमा आइपडबाट भिडियो हेर्ने सुविधा थियो । हालै सोनी तथा माइक्रोसफ्ट कम्पनीले पनि उपभोक्ताकोे आँखै अगाडि राख्न सकिने सानो डिस्प्ले स्त्रिmनको विकाश गर्नका लागि पेटेन्ट दर्ता गराइसकेका छन् । बीबीसी
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind