खुर्सिदको एक दिने भ्रमण आज

देवेन्द्र भट्टराई
सुरुमा दुई दिने भ्रमण भनिएकोमा 'कार्यव्यस्तताको कारण' देखाउँदै एक दिनमै भेटघाटको तालिका टुंग्याउने गरी भारतीय विदेशमन्त्री सलमान खुर्सिद मंगलबार बिहान काठमाडौं उत्रँदैछन् ।
भारतीय विदेश मन्त्रालयमा प्रभावशाली मानिने सहसचिव एवं प्रवक्ता साइद अकबरुद्दिन, नेपाल-भुटान मामला हेर्ने सहसचिव अखिलेश मिश्रसहितको टोली लिएर मन्त्री खुर्सिद विशेष विमानबाट मंगलबार बिहान ९ बजे काठमाडौं विमानस्थल उत्रनेछन् । साउथ ब्लक स्रोतका अनुसार विदेश सचिव रन्जन मथाईसमेत यो भ्रमण टोलीमा सहभागी हुने भनिए पनि उनी हाल म्यानमार भ्रमणबाट नफिरेकाले भ्रमणमा सामेल छैनन् । मंसिरमा हुन लागेको संविधानसभा निर्वाचनमा राजनीतिक दलको 'समर्थन, सद्‌भाव र सहभागिता' आवश्यक रहेको दिल्ली सन्देश लिएर विदेशमन्त्री खुर्सिद काठमाडौं जान लागेको विदेश मन्त्रालयका एक उच्च अधिकारीले भने । अत्यन्तै छोटो तयारीका बीच हुन लागेको भ्रमणमा कुनै सम्झौतामा हस्ताक्षर नहुने तथा विशुद्ध सद्‌भाव भ्रमणका रूपमा यसलाई लिइदिन सोमबार अपराह्नमात्रै विदेश मन्त्रालयका पदाधिकारीहरूलाई अवगत गराइएको थियो । विदेशमन्त्रीको हरेक भ्रमणलाई मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गर्ने गरेको भए पनि नेपालमा हुन लागेको भ्रमणबारे सोमबार रातिसम्म औपचारिक रूपमा कुनै सूचना सार्वजनिक गरिएको छैन । दिल्लीस्थित नेपाली दूतावास पनि खुर्सिदको भ्रमण तालिकाबारे अनविज्ञ छ । दूतावासमा कार्यवाहक राजदूत रहेका सहसचिव खगनाथ अधिकारी विदेशमन्त्री खुर्सिदको स्वागतका लागि भनेर काठमाडौंमा छन् ।
मंसिर ४ मा संविधानसभाको निर्वाचन हुने टुंगो भइसकेको र यसमा भारतले दिने साथ, सहयोगको प्रतिबद्धता जाहेर गर्न पनि विदेशमन्त्रीको भ्रमण हुन लागेको जनाइएको
छ । निर्वाचनका लागि सवारी साधनसहितको सहयोगमा भारतले प्रतिबद्धता जनाइसकेको छ । विशेषतः चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले असार ११/१२ मा गरेको नेपाल भ्रमणपछि भारत सरकारले आफ्ना उच्च अधिकारीको नेपाल भ्रमण गराउने 'हतार' देखाएको काठमाडौंबाट परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 'भारतीय विदेशमन्त्री खुर्सिदको भ्रमण तालिका एक सातामै तय भएको हो, यो भ्रमण केही घन्टाका लागि भए पनि यो निकै अर्थपूर्ण छ,' ती अधिकारीले भने । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले तीन महिनाअघि दिएको औपचारिक निम्तोमा नेपाल जाने 'विशेष अवसर' नजुटिरहेकोमा चिनियाँ स्टेट काउन्सिलरको भ्रमणलगत्तै तालिका तय भएको हो ।
विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले द्वैपक्षीय सम्बन्धका विविध पक्षसहित नेपालको आसन्न संविधानसभा निर्वाचनमा भारतले निर्वाह गर्न सक्ने साथ र सहयोगकाबारे छलफल हुने बताएका छन् । खुर्सिदले नेपाल-भारत सहयोगका द्वैपक्षीय कार्यक्रमको अनुगमनका साथै निर्वाचनका लागि विशेष सहयोगको समेत प्रतिबद्धता जनाउने अधिकारीले बताए ।
'यो सद्‌भाव भ्रमण हो, नेपालको शान्ति, स्थिरता र लोकतान्त्रिक पद्धतिको प्रवेशविन्दुको अवसरसमेत हो,' विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने एक अधिकारीले भने, 'यसबेला नजिकको साथीका रूपमा भारतको साथ र सहयोग महत्त्वपूर्ण हुनेछ ।'
यसअघि तत्कालीन विदेश मामलामन्त्री एसएम कृष्णाले २०११ को जनबरी र अपि्रलमा नेपाल भ्रमण गरेका थिए । विदेशमन्त्री भएको १० महिनामा खुर्सिदको यो पहिलो नेपाल भ्रमण हो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind