शेर्पाहरूले आज ग्याल्बो ल्होसार मनाउँदै ।।


शेर्पाहरूको ऐतिहासिक पवित्र धार्मिक पर्व नयाँ वर्ष ग्याल्बो ल्होसार शेर्पाहरूले आज विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउँदैछन् । यो पर्व फागुन शुक्ल प्रतिपदाका दिनदेखि १५ दिनसम्म मनाइने प्रचलन रहेको छ । यस पर्वमा पहिलो दिन घर, आँगन, बस्ती सफा गरी ध्वजापताका, तोरण टाँगेर आफ्ना नातेदार बोलाई बुद्धमूर्ति स्थापना गरी घर तथा गुम्बामा पूजाआजा गरी मनाइने प्रचनल रहेको छ । पूजामा लामा, गाउँको मुखियालगायत सम्मानित व्यक्तिलाई बोलाई पूजाआजा गराई खानपिन तथा नाचगान गरिन्छ । यो चाड बौद्धभिक्षु–भिक्षुणीले पनि मनाउने गर्दछन् । पर्वका अवसरमा घर–घरमा स्वस्तिक, चन्द्र–सूर्यको चित्र कोर्ने नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने, राम्रो पहिरन, मीठा परिकारले पाहुनाको स्वागत सत्कार गर्ने तथा मान्यजनसँग आशीर्वाद लिने प्रचलन रहेको छ । यो चाड नेपाललगायत चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटानलगायत देशमा मनाइने गरिन्छ ।

ग्याल्बो ह्लोसार अवसरमा शुभकामना ।।

। शेर्पा समुदायको धार्मिक पर्व ग्याल्बो ल्होसारको अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा. रामवरण यादवले नेपालका सबै चाडपर्व, संवत्, संस्कृति र परम्पराहरू साझा राष्ट्रिय सम्पदा रहेकाले यी सम्पदाहरूको संरक्षणबाट हामीलाई राष्ट्रियताको बाटोमा एक भई अघि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति यादवले हिमाल, पहाड र तराई मधेसमा बस्ने हामी सबै नेपालीबीच भ्रातृत्व र एकताको भावना बढाउने ल्होसारजस्ता राष्ट्रिय चाडपर्वहरूलाई हामीले हर्षोल्लासका साथमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ । उहाँले ग्याल्बो ल्होसार पर्व एवम् नयाँ वर्ष २१३९ ले हामी सम्पूर्ण नेपालीबीच देशका सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति र परम्पराहरूको संरक्षण र सम्वद्र्धन गर्न ऊर्जा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

यसैगरी, ग्याल्बो ल्होसारको शुभअवसरमा उपराष्ट्रपति परमानन्द झाले पनि आज शुभकामना सन्देश दिँदै सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले संविधान निर्माण, शान्ति र समृद्धि आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै सुदृढतापूर्वक सहमति र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामनासमेत गर्नु भएको छ ।



त्यस्तै प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिनुभएको शुभकामना सन्देशमा हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम नमूनास्थल रहेको उल्लेख गर्दै यिनै विविधताभित्र प्रत्येक जातजाति र धर्मावलम्बीको विशिष्ट एवम् मौलिक परम्परा, रहनसहन प्रतिबिम्बित हुँदै आएको बताउनुभएको छ ।

एकअर्काको संस्कार, मूल्यमान्यता र भावनाको सम्मान र आदर गर्नु प्रत्येक नेपालीको परम्परा रहिआएको बताउँदै प्रधानमन्त्रीले सन्देशमा यस्ता पर्व एवम् परम्पराहरूले बहुसांस्कृतिक नेपाली समुदायका बीचमा भावनात्मक एकता र सामाजिक सहिष्णुता कायम गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१३९ छुफो डुक लो–ल्होसारको अवसरमा शेर्पा समुदायलाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिनुभएको छ । सन्देशमा उहाँले उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र, जाति÷आदिवासी जनजातिलगायत अधिकारको ग्यारेन्टीका लागि आफ्नो पार्टी शान्ति र संविधानको मोर्चामा जुटिरहेको उल्लेख गर्दै उक्त प्रक्रियामा शेर्पा समुदायको सकारात्मक भूमिका रहेको र रहिरहने अपेक्षा गर्नुभएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले दिनुभएको सन्देशमा सबै धर्म तथा संस्कृतिको समान संरक्षण र संवद्र्धन गर्ने नेपालीको विशिष्ट परम्परामा नै नेपालको एकताको कडी रहेको उल्लेख गर्नुभएको छ ।

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind