आज भोटो देखाइने मच्छिन्द्रनाथको


वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज जाउलाखेलमा भोटोजात्रा मनाइँदैछ ।
रथ जाउलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोलि भोटोजात्रा हुने लागेको हो । लगनखेलस्थित थटिटोलमा रहेको रथ तानेर यही जेठ २१ गते जाउलाखेल पुर्‍याइएको थियो ।
करिब एक हजार ६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाइने गरिन्छ । त्यहीकारण जात्राको विशिष्ट सांस्कृतिक तथा धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । यद्यपि यस वर्ष रथयात्राको साइत चाँडो जुरेकाले जेठमै भोटोजात्रा मनाउन लागिएको हो ।
यो वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा गत वैशाख ३० गतेदेखि पुल्चोकबाट विधिपूर्वक सुरु भएको थियो ।
मच्छिन्द्रनाथको जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाको सबैभन्दा लामो जात्राको रूपमा मनाइन्छ ।
हिन्दु धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ -पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्दछन् ।
लोक कथनअनुसार टौदहका नागराज कर्कोटले नागिनीको आँखाका रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हटाइयो । मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि ती किसानले आˆनो भोटो भन्दै दाबी गरेपछि दुबै पक्षबीच खोसाखोस भयो । सो विवाद लिच्छवी राजा गुणकामदेवसमक्ष पुग्यो तर उनले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भन्ने निर्णय गर्न सकेनन् ।
उनले प्रमाण लिएर नआउञ्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइ रथमा राखेर कसैको प्रमाण छ कि भन्ने जानकारी लिने उद्देश्यले अर्को वर्ष देखाए ।
सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट पुजारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ ।
त्यसैगरी प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएकाले राजा नरेन्द्रदेवको नेतृत्वमा प्रसिद्ध तान्त्रिक बन्धुदत्त वज्राचार्य तथा मच्छिन्द्रनाथलाई बोकेर ल्याउन ललितपुरका ज्यापू भारतको कामारुकामाक्ष पुगेर रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याएको जनविश्वास छ ।
मच्छिन्द्रनाथलाई दर्शन गर्न पाउँ भनेर बाबा गोरखनाथले नेपालका अति महत्वपूर्ण नागराजासहित विभिन्न नौवटा सर्पमाथि आसन जमाई तपस्या बसेपछि नेपाल मण्डलमा १२ वर्षसम्म पानी नपरेपछि जनजीवन नराम्रोसँग प्रभावित भएको थियो ।
राक्षसका छोरा रातो मच्छिन्द्रनाथलाई कामारुकामाक्षमा राक्षसहरूबीचबाट मच्छिन्द्रनाथलाई काठमाण्डौं ल्याउन असंभव भएकाले प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्यले तान्त्रिकविधिबाट भमराको भेष धारण गरेका मच्छिन्द्रनाथलाई सुनको कलशमा राखि ती ज्यापुले बोकेर नेपाल ल्याएको इतिहासमा वर्णन गरिएको छ ।
सर्प तथा नागराजाको शरीरमा बसेर ध्यान गरिराखेका बेला उहाँका गुरु रातो मच्छिन्द्रनाथ सो स्थानमा आएपछि उहाँलाई दर्शन गर्न बाबा गोरखनाथ तपस्याबाट उठेपछि सहरमा वर्षा सुरु भएको धार्मिक मान्यताअनुसार रातो मच्छिन्द्रनाथलाई वर्षाको प्रतिकका रूपमा पूजा गर्ने चलन सुरु भएको हो । नेवार समुदायमा मच्छिन्द्रनाथलाई अन्नदाताको रूपमा पनि पुजिने चलन छ ।
मच्छिन्द्रनाथको भोटो देखाइसकेपछि छ महिना जाडोमा तःबहाल र गर्मीमा छ महिना बुङ्मतीमा राखिन्छ ।
जात्राका प्रमुख अतिथीको उपस्थितिमा सिल तोडी भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।
लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि तत्कालीन राजा भोटो जात्राको अतिथी बन्ने परम्परा रही आए पनि गणतन्त्र स्थापनापछि राष्ट्रपतिले नै प्रमुख अतिथी बन्ने नयाँ इतिहास सुरु भएको छ ।
त्यसैअनुरूप यस वर्ष पनि राष्ट्रपति डा रामवरण यादवले राष्ट्रप्रमुखको रूपमा भोटोजात्रा अवलोकन गर्नुहुनेछ ।
भोटोजात्रामा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्त अधिकारी र कुटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता रहने आयोजक गुठी संस्थानले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind